लघुवित्त संस्थाले पनि विदेशी बैङ्कबाट डलरमा ऋण ल्याउन बाटो खुल्यो, प्राथमिक पुँजीको ३० गुणासम्म लिन पाउने

लगानीयोग्य पुँजीको सङ्कट बढेपछि गत वर्ष केन्द्रीय बैङ्कले डलर, भारु र युरोलगायत विदेशी बैङ्कबाट परिवत्र्य विदेशी मुद्रामा कर्जा लिन बाटो खुला गरेकोमा अब घ वर्गका लघुवित्तले समेत पाएका छन् ।

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले लघुवित्त वित्तीय संस्थालाई पनि विदेशी बैङ्कबाट डलर (परिवत्र्य विदेशी मुद्रा) मा ऋण लिन बाटो खुला गरेको छ । केन्द्रीय बैङ्कले शुक्रबार निर्देशन जारी गरी प्राथमिक पुँजीको ३० गुणासम्म परिवत्र्य विदेशी मुद्रामा ऋण ल्याउन पाउने व्यवस्था गरेको हो ।

लगानीयोग्य पुँजीको सङ्कट बढेपछि गत वर्ष केन्द्रीय बैङ्कले डलर, भारु र युरोलगायत विदेशी बैङ्कबाट परिवत्र्य विदेशी मुद्रामा कर्जा लिन बाटो खुला गरेकोमा अब घ वर्गका लघुवित्तले समेत पाएका छन् ।

लघुवित्त संस्थाले विदेशी मुद्रा आर्जन गर्ने पर्यटन, कृषि लघुउद्यम, लघु जलविद्युत् तथा नवीकरणीय ऊर्जा, रोजगारी तथा स्वरोजगारी सिर्जनमार्फत आयआर्जन तथा आफनो क्षेत्रभित्रका लघु उद्यममा लगानी गर्नका लागि परिवत्र्य विदेशी मुद्रामा कर्जा लिन पाउने व्यवस्था गरिएको राष्ट्र बैङ्क विदेशी विनियम विभागका कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाले बताए ।

उनका अनुसार यस्तो ऋणको भुत्तानी अवधि १ देखि बढीमा ५ वर्ष हुनेछ । कर्जाको ब्याजदरलगायत ऋणदाताले लगाउने शुल्कसमेत गरी अधिकतम ६ महिना लेवोर प्लस ३ प्रतिशत हुनुपर्ने छ । योबाहेक कर्जा स्वीकृतिका क्रममा अन्य थप शुल्क लिन नपाउने उनले जानकारी गराए ।

ऋण लिएबापत विदेशी बैङ्क तथा वित्तीय संस्थालाई धितो वा जमानत दिन नपाइने व्यवस्था गरिएको छ । विदेशबाट ऋण लिनका लागि सञ्चालक समितिबाट पारित गर्नुपर्ने, ऋण ल्याएपछि केन्द्रीय बैङ्कमा लेखाङकन गराउनु पर्ने व्यवस्था गरिएको छ ।

बैङ्क तथा वित्तीय संस्थाबाट थोक कर्जा लिएर ग्रामीण क्षेत्रमा लगानी विस्तार गर्दै आएका लघुवित्त वित्तीय संस्थाको पंहुच अब अन्तर्राष्ट्रिय वित्तीय संस्थासम्म पुग्ने भएको छ ।