गाउँमा बैङ्क पुगेसँगै आर्थिक गतिविधिमा वृद्धि

सरकारले प्रत्येक स्थानीय तहमा बैङ्क पुर्याउने नीति अवलम्बन गरेपछि ग्रामीण क्षेत्रको आर्थिक रुपान्तरणमा परिवर्तन आउन थालेको हो । ग्रामीण क्षेत्रमा विभिन्न बैङ्कका शाखा स्थापनासँगै स्थानीय तहबाटै बैङ्किङ कारोबार गर्न सजिलो भएको छ । 

बैतडी । चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह रहेको बैतडी जिल्लाका सबै स्थानीय तहमा बैङ्कका शाखा स्थापना भएका छन् । स्थानीय तहमा बैङ्क स्थापना भएसँगै ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढ्न थालेको छ ।

सरकारले प्रत्येक स्थानीय तहमा बैङ्क पुर्याउने नीति अवलम्बन गरेपछि ग्रामीण क्षेत्रको आर्थिक रुपान्तरणमा परिवर्तन आउन थालेको हो । ग्रामीण क्षेत्रमा विभिन्न बैङ्कका शाखा स्थापनासँगै स्थानीय तहबाटै बैङ्किङ कारोबार गर्न सजिलो भएको छ ।

सुर्नया गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले भने,“बैङ्क स्थापना भएसँगै बैङ्किङ कारोबार गर्न सजिलो हुनुका साथै ग्रामीण अर्थतन्त्रमा पनि सुधार हुँदै गएको छ ।” गाउँपालिकाभरिको ८० प्रतिशत काम बैङ्कबाटै हुने गरेको र गाउँपालिकामा बाँकी रहेका विद्यालय तथा अन्य सङ्घसंस्थालाई पनि स्थानीय बैङ्कबाट गर्न अनुरोध गरेको उनले बताए ।

चेतनाको अभावका कारण सर्वसाधारणले बैङ्किङ प्रणालीलाई झन्झटिलो मान्ने भएकाले त्यसलाई अन्त्य गरी विश्वसनीय एवं चुस्त बनाउन बैङ्कले सहजीकरण भएको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाको भनाइ छ । नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत अनिवार्य बनाएपछि वृद्ध तथा अपाङ्गता भएका व्यक्तिलाई घरघरमा पुगेर बैङ्कले सेवा पुर्याउँदै आएको छ भने वित्तीय सुशासनमा समेत सहयोग पुगेको उनले बताए ।

बैतडीका अधिकांश स्थानीय तहमा बैङ्कको शाखा स्थापनाले स्थानीय तह, विद्यालय, उपभोक्ता समिति, सहकारी संस्थालगायतको वित्तीय सुशासन एवं आर्थिक पारदर्शी बनाउन उल्लेख्य सहयोग पुग्दै आएको छ ।

स्थानीय तहमा खुलेका बैङ्कले कृषि कर्जामा दिएको प्राथमिकताबाट ग्रामीण भेगमा कृषि क्षेत्रको विकासमा सुधार, लगानी वृद्धि र व्यावसायिक कृषिको वातावरण बनाएको बताइएको छ ।

जिल्लाको सिगास गाउँपालिकामा कृषि विकास बैङ्क, शिवनाथ गाउँपालिकामा नेपाल एसबिआई बैङ्क, पञ्चेश्वर गाउँपालिकामा नबिल बैङ्क, पुर्चौडी नगरपालिका र दोगडाकेदार गाउँपालिकाका ग्लोबल आइएमई बैङ्क, डिलाशैनीमा कुमारी बैङ्क, सुर्नया गाउँपालिकामा नेपाल इन्भेष्टमेन्ट बैङ्क र मेलौलीमा एनसिसी बैङ्कका शाखा स्थापना भइसकेका छन् । सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा वाणिज्य बैङ्कलगायत अन्य बैङ्कका शाखा छन् भने पाटन नगरपालिकाका कृषि विकास बैङ्कलगायतका शाखा छन् । रासस