बैठकले नवीकरणको हकमा भने बढी ब्याज दिन पाउने व्यवस्था गरेको छ । संस्थागत निक्षेपकर्तालाई ८.५० प्रतिशतसम्म ब्याज दिन पाउने व्यवस्था यसअघि नै गरिएको थियो ।
काठमाडौ । वाणिज्य बैंकले निक्षेप नवीकरण गर्दा बढी ब्याज दिन पाउने भएका छन् । नेपाल बैंकर्स सङ्घको आईतबारको बैठकले त्यस्तो निर्णय गरेको हो । पछिल्लो पटक ‘क’ वर्गका वाणिज्य बैंकले निक्षेप नवीकरण गर्दा बढी ब्याज लिएको भन्दै बैंकहरुबीच नै गुनासो बढेपछि सङ्घको बैठक बसेको हो ।
बैठकले नवीकरणको हकमा भने बढी ब्याज दिन पाउने व्यवस्था गरेको छ । संस्थागत निक्षेपकर्तालाई ८.५० प्रतिशतसम्म ब्याज दिन पाउने व्यवस्था यसअघि नै गरिएको थियो । त्यसमा बैंकले थप एक प्रतिशत बढी ब्याज दिन पाउने व्यवस्था गरिएको थियो । त्यसआधारमा वाणिज्य बैंकहरुले ९.५० प्रतिशतसम्म संस्थागत निक्षेपकर्तालाई ब्याज दिँदै आएका थिए ।
पछिल्ला दिनमा केही बैंकले निक्षेप नवीकरण गर्दा ९.९९ प्रतिशतसम्म ब्याज दिने प्रस्ताव गरेका थिए । सङ्घका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाका अनुसार निक्षेपको नवीकरण गर्दा केही बढी ब्याज दिने सहमति भएको हो ।
केही बैंकले सङ्घको निर्णयका आधारमा भन्दा पनि आफैँले स्वतन्त्र निर्णय गर्ने भन्दै संस्थागत निक्षेपकर्ताको ब्याज बढी दिने घोषणा गरेका थिए । वाणिज्य बैंकमा ऋणयोग्य रकमको अभाव देखिँदै आएको छ । यस्तै कर्जा–पूँजी निक्षेप अनुपात पनि ८० प्रतिशत बढी रहेको छ ।
यस्तै संस्थागत निक्षेपकर्ताको ब्याज दर नवीकरण गर्दा ०.१ प्रतिशतसम्म दिन पाइने सहमति भएको छ । संस्थागत निक्षेपकर्तालाई दिने ब्याज ८.५ प्रतिशतमाथि नपाइने भएको छ ।
नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक, सेञ्चुरी कमर्शियल बैंक र सनराइज बैंकले यसअघि भएको सहमति तोडेपछि बैंकर्स संघले बैठक बसी नयाँ व्यवस्था गरेका हुन् ।