बैङ्कले गत असार मसान्तमा यसअघि जारी भएको निर्देशन संशोधन गर्दै प्रतिव्यक्ति, प्रतिदिन, प्रति कारोबार उक्त परिमाणमा मात्र रेमिट्यान्स प्रवाह गर्न सकिने जनाएको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले एक दिनमा देशभित्र ६० हजार रुपैयाँभन्दा बढी विप्रेषण (रेमिट्यान्स) पठाउन÷पाउन नसक्ने व्यवस्था गरेको छ । राष्ट्र बैङ्कले अनुमति प्राप्त संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशनलाई संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । यसअघि यसको आकार प्रतिदिन १ लाख रुपैयाँ थियो ।
बैङ्कले गत असार मसान्तमा यसअघि जारी भएको निर्देशन संशोधन गर्दै प्रतिव्यक्ति, प्रतिदिन, प्रति कारोबार उक्त परिमाणमा मात्र रेमिट्यान्स प्रवाह गर्न सकिने जनाएको हो ।
नेपाल राष्ट्र बैङक भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले यसअघि अर्थ मन्त्रालयले राष्ट्र बैङ्कका डेपुटी गभर्नर शिबराज श्रेष्ठ नेतृत्वमा बनेको मुद्रा बजार र पुँजी बजारका समस्या समाधान गर्न गठित समितिले दिएको सुझावबमोजिम त्यस्तो व्यवस्था गरेको बताए ।
‘हामीले समितिको प्रतिवेदनको सुझावलाई कार्यान्वयन गरेका मात्र हौं, विद्यमान हुन्डी कारोबारलाई निरुत्साहन गर्ने प्रयासस्वरुप त्यस्तो व्यवस्था गरिएको हो,’ कार्यकारी निर्देशक ढकालले क्यापिटल नेपाललाई भने ।
चालू आर्थिक वर्षको ५ महिनामा विप्रेषण आप्रवाह ३१.९ प्रतिशतले वृद्धि भई ३ खर्ब ७६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.२ प्रतिशतले बढेको थियो ।