वाणिज्य बैङ्कले निक्षेप नवीकरणमा बढाए ब्याज

भद्र सहमतिपछि हिमालयन बैङ्क, एनएमबी बैङ्क, कृषि विकास बैङ्क, प्रभु बैङ्क, माछापुच्छ् बैङ्क, सनराइज बैङ्क, बैङ्क अफ काठमाण्डू, नबिल बैङ्क, कुमारी बैङ्क, नेपाल एसबीआई बैङ्क, सिद्धार्थ बैङ्क र सिभिल बैङ्कलगायतले ब्याजदर बढाउने जानकारी दिएका हुन् ।

काठमाडौ । वाणिज्य बैङ्कहरुले संस्थागत निक्षेपकर्ताको ब्याज दर बढाएका छन् । वाणिज्य बैङ्कहरुले नयाँ ब्याजदर सार्वजनिक गरी संस्थागत निक्षेपको नवीकरण गर्दा ०.१ प्रतिशतसम्म ब्याज बढाउन सकिने जानकारी गराएका हुन् । संस्थागत निक्षेप नवीकरण गर्दा बैङ्कहरुले ८.६ प्रतिशतसम्म ब्याज दिन पाउने छन् ।

नेपाल बैङ्कर्स एसोसियसनको आइतबारको बैठकले संस्थागत निक्षेपको नवीकरण शुल्क ०.१ प्रतिशत बढाउने सहमति गरेपछि बैङ्कहरुले सोमबार नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

संस्थागत निक्षेपकर्तालाई दिने ब्याज ८.५ प्रतिशतमाथि नपाइने तर निक्षेपको नवीकरण भएमा ०.१ प्रतिशत थप गर्न पाइने भएको छ । व्यक्तिगत निक्षेपकर्ताको ९.२५ प्रतिशत यथावत छ । पछिल्लो पटक वाणिज्य बैङ्कले निक्षेप नवीकरण गर्दा बढी ब्याज लिएको भन्दै बैङ्कहरुबीच नै गुनासो बढेपछि एसोसियसनको बैठक बसेर भद्र सहमति गरेको हो ।

भद्र सहमतिपछि हिमालयन बैङ्क, एनएमबी बैङ्क, कृषि विकास बैङ्क, प्रभु बैङ्क, माछापुच्छ् बैङ्क, सनराइज बैङ्क, बैङ्क अफ काठमाण्डू, नबिल बैङ्क, कुमारी बैङ्क, नेपाल एसबीआई बैङ्क, सिद्धार्थ बैङ्क र सिभिल बैङ्कलगायतले ब्याजदर बढाउने जानकारी दिएका हुन् ।

सेञ्चुरी कमर्शियल बैङ्क, सनराइज बैङ्क र नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैङ्कले संस्थागत निक्षेप तान्न ब्याजदर बढाएपछि यसलाई रोक्न बैङ्कर्स सङ्घले नयाँ भद्र सहमति गरेको हो । केही बैङ्कले निक्षेप नवीकरण गर्दा ९.९९ प्रतिशतसम्म ब्याज दिने प्रस्ताव गरेका थिए ।

लगानीयोग्य पुँजीको सङ्कट बढेपछि वाणिज्य बैङ्कहरु बढी ब्याज दिएर निक्षेप तान्न प्रतिस्पर्धा गरेका हुन् । ऋणयोग्य रकमको अभाव देखिँदै आएको छ । बैङ्कहरुले सार्वजनिक गरेको ६ महिनाको वित्तीय विवरणमा कर्जा–पुँजी निक्षेप अनुपात पनि ८० प्रतिशत छ ।

अधिकांश बैङ्कहरुले थप लगानी गर्न नसक्ने अवस्थामा पुगेका हुन् । लगातार ३ वर्षदेखि बैङ्किङ क्षेत्रमा लगानीयोग्य पुँजीको समस्या हुँदै आएको छ । पछिल्लो समयमा बैङ्कको आधार ब्याजदर बढेर १०.३० प्रतिशत पुगेको केन्द्रीय बैङ्कले जनाएको छ ।