अन्तर बैङ्क ब्याजदर बढेर ५.८ प्रतिशत पुग्यो, राष्ट्र बैङ्कले मङ्गलबार १५ अर्ब बजारमा पठाउँदै

उनले अनिवार्य नगद अनुपात (सीआआर) बाहेक बैङ्किङ प्रणालीमा ३८ अर्ब रुपैयाँ तरलता रहेको जानकारी दिए । केन्द्रीय बैङ्कले एक साताका लागि बजारमा पैसा पठाउन लागेको हो ।

काठमाडौं । अन्तर बैङ्क ब्याजदरले सीमा नाघेपछि नेपाल राष्ट्र बैङ्कले मङ्गलबार बजारमा १५ अर्ब रुपैयाँ पठाउने भएको छ । पटक पटक रिपो गर्दा पनि अन्तर बैङ्क ब्याजदरले सीमा नाघेपछि फेरी रिपोमार्फत बैङ्किङ प्रणालीमा पैसा पठाउन लागेको हो ।

लगानीयोग्य पुँजीको कमी भई अन्तर बैङ्क ब्याजदर ५.८ प्रतिशत पुगेपछि यसलाई वान्छित सीमामा ल्याउन रिपो गर्न लागेको राष्ट्र बैङ्क अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बताए ।

उनले अनिवार्य नगद अनुपात (सीआआर)बाहेक बैङ्किङ प्रणालीमा ३८ अर्ब रुपैयाँ तरलता रहेको जानकारी दिए । केन्द्रीय बैङ्कले एक साताका लागि बजारमा पैसा पठाउन लागेको हो । गत साता पनि अन्तर बैङ्क ब्याजदरले सीमा नाघेपछि बजारमा ५ अर्ब रुपैयाँ पठाएको थियो ।

एक साताका लागि पठाइन लागेको रिपो माघ २९ गते परिपक्व हुने छ । ५ प्रतिशतभन्दा कम ब्याजदर प्रस्ताव गरेमा अस्वीकृत हुने केन्द्रीय बैङ्कले जानकारी दिएको छ ।

बैङ्कहरुले सार्वजनिक गरेको ६ महिनाको वित्तीय विवरणमा कर्जा निक्षेप अनुपात औसत ७९ प्रतिशत हाराहारीमा देखिएको छ । अधिकांश बैङ्कहरु थप कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । राष्ट्रिय वाणिज्य बैङ्कको मात्र सीसीडी रेसियो ७० प्रतिशतको हाराहारीमा छ ।

३ वर्षयता बैङ्किङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव चर्किएको छ । केन्द्रीय बैङ्कले अनियवार्य नगद अनुपातको सीमा घटाउने र विदेशबाट ऋण लिन बाटो खुला गरेको छ । बैङ्कले विदेशबाट ऋण ल्याउन सकेका छैन । बैङ्कहरुले मुद्दतीको ब्याजदर बढाएपछि निक्षेप लागत औसत ८ प्रतिशत र आधार दर १०.३० प्रतिशत पुगेको छ । लगानीयोग्य पुँजी नभएपछि बैङ्कहरुले सोमबारदेखि निक्षेपको नवीकरणको ब्याजदर पनि बढाएका छन् ।

वार्षिक बिन्दुगत आधारमा गत मङ्सिरमा बैङ्क तथा वित्तीय संस्थाहरूको निक्षेप १९.८ प्रतिशत बढेको छ । बैङ्क तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २४.१ प्रतिशत बढेको छ । बैङ्क तथा वित्तीय संस्थाले १ खर्ब ७६ अर्ब २६ करोड रुपैयाँ निक्षेप परिचालन गरेर २ खर्ब ४४ अर्ब ३६ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । चालू आर्थिक वर्षमा केन्द्रीय बैङ्कले २० प्रतिशत कर्जा सीमा तोकेकोमा ६ महिनामा नाघेको छ ।

आर्थिक वर्षको पाँच महिनामा खुलाबजार कारोबारका विभिन्न उपकरणमार्फत पटक–पटक गरी १ खर्ब ३५ करोड रुपैयाँ तरलता प्रशोचन गरिएको छ । यसअनुसार निक्षेप सङ्कलन बोलकबोलमार्फत ७९ अर्ब ६५ करोड र रिभर्स रिपोमार्फत २० अर्ब ७० करोड तरलता प्रशोचन भएको छ ।