राष्ट्र बैंकले १५ अर्ब पठाउँदा बैंकले ४ अर्ब मात्र लिए, अन्तर बैंक ब्याजदर ६ प्रतिशत पुग्यो

अन्तर बैंक ब्याजदर बढेर ६ प्रतिशत पुग्दा पनि बैंकहरुले पैसा नलिएको राष्ट्र बैंक ऋण विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । सोमबार अन्तर बैंक ब्याजदर ५.८ प्रतिशत रहेकोमा मंगलबार बढेर ६ प्रतिशत पुगेको उनले जानकारी दिए ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा १५ अर्ब रुपैयाँ पठाउँदा आधा दर्जन बैंकले ४ अर्ब रुपैयाँ मात्र उठाएका छन् । अन्तर बैंक ब्याजदरले सीमा नाघेपछि राष्ट्र बैंकले मङ्गलबार रिपोमार्फत बजारमा पैसा पठाएको हो । अन्तर बैंक ब्याजदरले ५ प्रतिशत सीमा नाघेपछि यसलाई बान्छित सीमामा ल्याउन केन्द्रीय बैंकले रिपोमार्फत बजारमा पैसा पठाएको हो ।

अन्तर बैंक ब्याजदर बढेर ६ प्रतिशत पुग्दा पनि बैंकहरुले पैसा नलिएको राष्ट्र बैंक ऋण विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । सोमबार अन्तर बैंक ब्याजदर ५.८ प्रतिशत रहेकोमा मंगलबार बढेर ६ प्रतिशत पुगेको उनले जानकारी दिए । बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको र बैंकहरुले थप लगानीयोग्य पुँजी खोजेका उनको भनाई छ ।

बैकहरुले सार्वजनिक गरेको ६ महिनाको वित्तीय विवरणमा कर्जा निक्षेप अनुपात औसत ७९ प्रतिशत हाराहारीमा देखिएको छ । अधिकांश बैङ्कहरु थप कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन । ३ वर्षयता बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव चर्किएको छ । बैंकहरुले मुद्दतीको ब्याजदर बढाएपछि निक्षेप लागत औसत ८ प्रतिशत र आधार दर १०.३० प्रतिशत पुगेको छ ।