मौद्रिक नीति आएको ७ महिनापछि राष्ट्र बैङ्कले लागू गर्यो ब्याजदर करिडोर, अन्तर बैङ्क ब्याजदरमा स्थायित्व आउने

आन्तरिक तयारीका क्रममा भएकाले ब्याजदर करिडोर लागू हुन ढिलाइ भएको राष्ट्र बैङ्क ऋण विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । क्यापिटल नेपालसँग कुरा गर्दै उनले आज बुधबारदेखि पूर्ण रुपमा ब्याजदर करिडोर लागू भएको जानकारी दिए ।

काठमाडौं । मौद्रिक नीति लागू भएको ७ महिनापछि नेपाल राष्ट्र बैङ्कले ब्याजदर करिडोर लागू गरेको छ । केन्द्रीय बैङ्कले बुधबार ५ प्रतिशत ब्याजदरमा दुई साताका लागि ५ अर्ब रुपैयाँको रिपो जारी गरेर ब्याजदर करिडोर लागू गरेको हो ।

आन्तरिक तयारीका क्रममा भएकाले ब्याजदर करिडोर लागू हुन ढिलाइ भएको राष्ट्र बैङ्क ऋण विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । क्यापिटल नेपालसँग कुरा गर्दै उनले आज बुधबारदेखि पूर्ण रुपमा ब्याजदर करिडोर लागू भएको जानकारी दिए । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा भएको व्यवस्थाअनुसार ब्याजदर करिडोर लागू भएको उनले जानकारी दिए ।

ब्याजदर करिडोर लागू भएपछि अल्पकालीन ब्याजदरलाई स्थायित्व दिने, तरलतको व्यवस्थापन, नीतिगत सङ्कते र अन्तर बैङ्क ब्याजदरमा स्थायित्व दिने अपेक्षा केन्द्रीय बैङ्कको रहेको उनले बताए । अन्तर बैङ्क ब्याजदर बढेर ६.१७ प्रतिशत पुगेको छ । बैङ्किङ प्रणालीमा ४० अर्ब रुपैयाँ अधिक तरलता रहेको केन्द्रीय बैङ्कले जनाएको छ ।

ब्याजदर करिडोरको माथिल्लो सीमा ६.५ र तल्लो सीमा ३.५ प्रतिशत छ । रिपो दर ५ प्रतिशत तोकिएको छ । अघिल्लो वर्ष माथिल्लो सीमा ७ र तल्लो सीमा ३ प्रतिशत थियो । तरलता व्यवस्थापन गर्दा ७५ प्रतिशत खलाबजार कारोबार र २५ प्रतिशत ब्याजदर करिडोरमार्फत हुने उनले सुनाए । खुला बजारमा ५ प्रतिशतभन्दा तल र ३.५ प्रतिशतभन्दा माथि ब्याजदर प्रस्ताव गर्न नपाइने व्यवस्था गरिएको छ ।

मङ्गलबारसम्म केन्द्रीय बैङ्कले खुलाबजार कारोबारमार्फत तरलता व्यवस्थापन गर्दै आएको थियो । अब केन्द्रीय बैङ्कले अन्तर बैङ्क ब्याजदर ५ प्रतिशत कटेपछि रिपो र ३.५ प्रतिशत तल झरेपछि रिभर्स रिपोमार्फत बजारबाट पैसा तान्ने गरेको छ । २ वर्षदेखि ब्याजदर कारिडोर लागू भएपनि यसको प्रभावकारी रुपमा कार्यन्वयन हुन सकेको छैन ।

तरलता व्यवस्थापनका लागि खुलाबजार औजारमार्फत राष्ट्र बैङ्कले बजारमा १५ अर्ब रुपैयाँ पठाउँदा आधा दर्जन बैङ्कले ४ अर्ब रुपैयाँ मात्र उठाएका छन् । अन्तर बैङ्क ब्याजदरले सीमा नाघेपछि राष्ट्र बैङ्कले मङ्गलबार रिपोमार्फत बजारमा पैसा पठाएको हो । अन्तर बैङ्क ब्याजदरले ५ प्रतिशत सीमा नाघेपछि यसलाई वान्छित सीमामा ल्याउन केन्द्रीय बैङ्कले रिपोमार्फत बजारमा पैसा पठाएको हो ।

बैङ्कहरुले सार्वजनिक गरेको ६ महिनाको वित्तीय विवरणमा कर्जा निक्षेप अनुपात औसत ७९ प्रतिशत हाराहारीमा देखिएको छ । अधिकांश बैङ्कहरु थप कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । ३ वर्षयता बैङ्किङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव चर्किएको छ । बैङ्कहरुले मुद्दतीको ब्याजदर बढाएपछि निक्षेप लागत औसत ८ प्रतिशत र आधार दर १०.३० प्रतिशत पुगेको छ ।