लामो समयदेखि धरान उपमहानगरपालिकाले प्रसारण लाइन अघि बढ्न नदिएपछि मुख्यमन्त्री राईले विवाद समाधान गर्नेबारे आयोजनालाई जानकारी गराएका हुन् ।
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले एक हप्ताभित्र २२० केभी कोसी करिडोर प्रसारण लाइनमा देखिएको विवाद सुल्झाउने बताएका छन् । लामो समयदेखि धरान उपमहानगरपालिकाले प्रसारण लाइन अघि बढ्न नदिएपछि मुख्यमन्त्री राईले विवाद समाधान गर्नेबारे आयोजनालाई जानकारी गराएका हुन् ।
लामो समयदेखि आयोजना अघि बढ्न नसकेकाले मुख्यमन्त्री राईले एक हप्ताभित्र आयोजनाको मुख्य समस्या समाधान गर्ने र आयोजनाको निर्माण कार्य अघि बढाउन आयोजनालाई जानकारी गराएको कोसी करिडोर प्रसारण लाइन आयोजनाका प्रमुख राजन ढकालले जानकारी दिए । ‘मुख्यमन्त्रीज्यूले एक÷डेढ हप्ताभित्रै आयोजनाको समस्या सुल्झाउनुपर्ने जानकारी गराउनुभएको छ,’ उनले भने, ‘विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक र मुख्यमन्त्रीज्यूले विवाद टुङ्ग्याउने सहमति भएको छ ।’ उनका अनुसार, उच्चस्तरमा समाधान गर्ने सहमतिपछि अवरोध हटाउन धरान उपमहानगरलाई विस्तारै दबाब हुँदै गएको छ ।
पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न निर्माण भइरहेका संरचनालाई असर पुग्ने भन्दै धरान उपमहानगरपालिका–२० चिन्डेडाँडाबाट जाने रुट अघि नबढाउन र रुट सार्न माग गर्दै आयोजना अवरोध हुँदै आएको हो ।
यसअघि धरान उपमहानगरपालिकाले धरान उपमहानगरपालिका—२० चिन्डेडाँडाबाट प्रसारण लाइन रुट सार्न विद्युत् प्राधिकरणलाई पत्राचारसमेत गरेको थियो ।
यता, चिन्डेडाँडाबाट जाने प्रसारण लाइनको रुटमा पर्ने सम्पदा तथा निर्माणमा कुनै असर नगर्ने आयोजनाको जनाएको छ ।