कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीय बासिन्दालाई गरी ३३ करोड ७ लाख ५ हजार रुपैयाँबराबरको ३३ लाख ७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।
काठमाडौं : निजी लगानीबाट प्रवद्धित अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीय बासिन्दालाई गरी ३३ करोड ७ लाख ५ हजार रुपैयाँबराबरको ३३ लाख ७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।
कम्पनीले आयोजना प्रभावित सोलुखुम्बु जिल्लाका स्थानीयलाई १३ करोड ५० लाख रुपैयाँ बराबरको १३ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।
आगामी जेठसम्म आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई आईपीओ निष्कासन गर्ने कम्पनीले जनाएको छ । त्यसपछि सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले एनएमबी क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गरेको छ । सम्झौतापत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शशिसागर राजभण्डारी र एनएमवी सीईओ० श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् ।
सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका भएर बहने सोलु खोलामा २३।५ मेगावाट क्षमताको सोलु जलविद्युत आयोजना निर्माणको चरणमा रहेको छ । चालु आर्थिक वर्षभित्र आयोजाबाट बिजुली उत्पादन हुनेछ । आयोजनाको लागत निर्माण अवधिको ब्याजसमेत गरी ४ अर्ब ४० करोड रुपैयाँ छ ।