आयोजनाको दोस्रो प्याकेजअन्तर्गत सम्झौता भएबमोजिम चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशन लिमिटेडले विद्युत् गृह निर्माणको प्रक्रिया शुरु गरेको हो ।
दमौली । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको विद्युत् गृह निर्माण प्रक्रिया शुरु भएको छ । आयोजनाको दोस्रो प्याकेजअन्तर्गत सम्झौता भएबमोजिम चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशन लिमिटेडले विद्युत् गृह निर्माणको प्रक्रिया शुरु गरेको हो । उक्त कम्पनीले हाल कार्यालय स्थापनालगायतको काम गरिरहेको आयोजनाका साइट इञ्चार्ज विदुर अधिकारीले जानकारी दिए । उनले भने, “ठेक्का सम्झौता भएबमोजिम काम शुरु गर्नका लागि कम्पनीका कामदार परिचालन भएका छन् ।”
अधिकारीका अनुसार आयोजनाको ट्रान्समिसन लाइन निर्माणका लागिसमेत ठेकेदार कम्पनीले काम शुरु गरिसकेको छ । उनका अनुसार प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसी इन्टरनेसनल लिमिटेडले जिम्मा पाएको छ ।
नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि भने केही अन्यौल सिर्जना भएको छ । मेलम्ची खानेपानी आयोजनाको काम गरिरहेको इटालियन कम्पनी कोअपरेटिभ मुरातोसी केमेस्टी ( सिएमसी) ले नै पहिलो प्याकेजको संरचना निर्माणका लागि सम्झौता गरेको थियो ।
काममा फर्कने भन्दै स्वदेश फर्किएका कम्पनीका ठेकेदार हालसम्म फर्किएका छैनन् । उक्त कम्पनीलाई आगामी फागुन ६ गतेसम्मको समय दिइएकाले उक्त समयसम्म कुर्नुपर्ने अवस्था रहेको आयोजनाले जनाएको छ । “उहाँहरुलाई दिएको समयावधि बाँकी छ, त्यसबेलासम्म कुर्छौ, त्यसपछि के गर्ने भन्ने विषयमा छलफल गरिरहेका छौं”, अधिकारीले भने ।
पहिलो प्याकेजको संरचना निर्माणका लागि सिएमसीसँग २० अर्ब ६४ करोड ५२ लाख प्रोभिजनल सम र मूल्य अभिवृद्धि करसहितमा खरिद सम्झौता भएको थियो ।
थप जग्गाका लागि साढे सात करोड मुआब्जा
आयोजनाले अधिग्रहण गर्न लागेको व्यास नगरपालिका–५ वेतेनीको ५० रोपनी जग्गाका लागि ७ करोड ५० लाख रुपैयाँ मुआब्जा वितरण गरिएको आयोजनाले जनाएको छ । प्रभावित ६२ घरपरिवारमध्ये ४३ ले मुआब्जाबापतको रकम बुझेका छन् । आयोजनाले ५० रोपनी जग्गा अधिग्रहणका लागि ८ करोड रुपैयाँ विनियोजन गरेको छ ।
आयोजनाको बाँधमा जाने प्रवेश मार्ग र ठेकेदारका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गरिएको हो । नेपाल विद्युत् प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच विद्युत खरीद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ । तनहुँको रिसिङ गाउँपालिका–१ मा कार्यालय तथा कर्मचारी आवासगृह निर्माण सम्पन्न भइसकेको छ ।
आयोजनाको कूल लागत ५० करोड ५० लाख अमेरिकी डलर प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत रहेको छ । यसमध्ये एशियाली विकास बैंक (एडीबी) ले अमेरिकी डलर १५० मिलियन, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०ले अमेरिकन डलर १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बैंक (इआइबी) ले अमेरिकन डलर ८५ मिलियन र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ । रासस