विभिन्न २८ ठेकेदार कम्पनी तथा व्यवसायीलाई सीएमसीले मेलम्चीका विभिन्न काम गराएको र सामन आपूर्ति गराउँदाको भुत्तानी नगरी भागेपछि नेपाल व्यवसायी डुब्ने आशंका बढेको छ ।
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको इटालिन ठेकेदार कोअपरेटिभ मुरातोरी एन्ड सिमिष्ट्रि (सीएमसी) ले नेपाली ठेकेदारलाई काम गराए बापत १ अर्ब २२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । सीएमसीले ठेक्का तोडेर इटाली फर्केपछि नेपाली निर्माण व्यवसायीहरुले पाउनुपर्ने भुक्तानी अन्योलमा परेको हो ।
विभिन्न २८ ठेकेदार कम्पनी तथा व्यवसायीलाई सीएमसीले मेलम्चीका विभिन्न काम गराएको र सामन आपूर्ति गराउँदाको भुत्तानी नगरी भागेपछि नेपाल व्यवसायी डुब्ने आशंका बढेको छ । व्यवसायीले सीएमसीबाट भुत्तानी लिनका लागि सरकारसँग हारगुहार गरेका छन् । मेलम्ची खानेपानी विकास समितिले उसंगको ठेक्का तोडेर २ अर्ब ५६ करोड रुपैयाँ जमानत जफत गरेको छ ।
सीएमसीले भागेपछि भुक्तानीको जिम्मेवारी मेलम्ची आयोजना पक्षले लिनुपर्ने निर्माण व्यवसायीको माग छ । मेलम्ची आयोजनालाइ अनुचित लाभ र बदनियतपूर्ण खेलको दलदलबाट बाहिर ल्याउनुपर्ने निर्माण व्यवसायीले बताएका छन् ।
भुक्तानी नपाएको भन्दै व्यवसायीहरुले मेलम्ची खानेपानी आयोजना पीडीत संघर्ष समिति समेत बनाएका छन् । ठेकेदार कम्पनी तथा निर्माण व्यवसायीहरुले आफहरुको भुक्तानी आयोजना पक्ष नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
व्यवसायीले सीएमसीलाई नै काममा फर्काउँदा समय र बजेटको समेत बचत हुने संघर्ष समितिका सचिव बिष्णुमणि आचार्यले बताए । संघर्ष समितिले आइतबार रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरी आफुहरुले भुक्तानी पाउनुपर्ने र आयोजना छिटो अघि बढ्नपर्ने तर्क राखेका थिए ।
८०० कर्मचारीको तलव सुनिश्चित गर्न माग
मेलम्ची खानेपानी आयोजना पीडित सङ्घर्ष समितिले मेलम्ची आयोजनामा कार्यरत झण्डै ८०० कर्मचारीको तलब तथा पारिश्रमिक सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।
पत्रकार सम्मेलनमा सुरुङभित्र धुवाँ धूलोमा काम गरेका कर्मचारीले तीन महीनाको तलब तथा सञ्चयकोष नपाएको जानकारी दिइयो । कर्मचारीलाई पारिश्रमिक उपलब्ध नगराएसम्म काम गर्न नदिने उनीहरुले चेतावनी दिएका छन् । सङ्घर्ष समितिका संयोजक श्रीराम न्यौपानेले आयोजनामा कर्मचारीसहित एक हजारभन्दा बढी व्यक्ति पीडित भएको बताए।