नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रदर्शनी, कार्यक्रम, सभा तथा गोष्ठीका लागि सुविधासम्पन्न प्रदर्शनीस्थल नभएकाले ५५ हजार वर्गफिटमा प्रदर्शनी केन्द्र बनाउन लागेको हो । होटलले पट्टामा लिएको खाली जग्गामा कम्पनीको पूर्ण लगानीमा प्रदर्शनी केन्द्र बनाउनका लागि नक्साको कामसमेत सकेको जनाएको छ ।
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (हायात) ले अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने भएको छ । राजधानीको चुच्चेपाटीस्थित होटलसँगै रहेको १४८ रोपनी खाली जग्गामा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गर्न लागेको हो । होटलले पट्टामा लिएको यो जग्गा लामो समयदेखि उपयोग विहीन छ ।
प्रदर्शनी केन्द्र निर्माणका लागि ६४ करोड ७ लाख ३८ हजार रुपैयाँ लाग्ने अनुमान होटलको छ । पट्टामा लिएको खाली जग्गाको होटलले तारागाउँ विकास समितिलाई वार्षिक ३३ लाख रुपैयाँ भाडा बुझाउँदै आएको छ ।
नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रदर्शनी, कार्यक्रम, सभा तथा गोष्ठीका लागि सुविधासम्पन्न प्रदर्शनीस्थल नभएकाले ५५ हजार वर्गफिटमा प्रदर्शनी केन्द्र बनाउन लागेको हो । होटलले पट्टामा लिएको खाली जग्गामा कम्पनीको पूर्ण लगानीमा प्रदर्शनी केन्द्र बनाउनका लागि नक्साको कामसमेत सकेको जनाएको छ । अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा होटलसहितको सुविधा हुने छ ।
होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले नेपालमा सुविधासम्पन्न प्रदर्शनी केन्द्र निर्माणका लागि काम भैरहेको बताए । ‘हामीले हायात होटलको खाली रहेको जग्गामा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गर्दैछौं,’ उनले भने । प्रदर्शनी केन्द्र निर्माणका लागि ३ वर्षदेखि तयारी थालेको र अहिले नक्साको कामसमेत सकिएको उनले क्यापिटल नेपाललाई जानकारी दिए ।
५५ हजार वर्गफिटमा बन्ने प्रदर्शनी केन्द्रमा हल मात्रै ३५ हजार वर्गफिटको रहने कम्पनीले जनाएको छ । ५ हजार मानिस अटाउन सक्ने हलमा सुरक्षादेखि विभिन्न सुविधा रहने छन् । प्रदर्शनीस्थलमा दुई सय ओटा कार जीप, ५०० ओटा मोटरसाइकलको पार्किङ सुविधासमेत रहने छ । सरकारले घोषणा गरेको भ्रमणवर्ष २०२० सफल पार्ने परियोजनाको उद्देश्य रहेको श्रेष्ठले बताए ।