विदेशमा चम्केका गैरआवासीय नेपाली व्यवसायी

मलेसिया, खाडी, यूरोप, अमेरिकादेखि एसियाभित्र अरु मुलुकमा पनि नेपालीहरुको व्यवसायमा लोभलाग्दो सफलता छ ।

नेपाल छाडेर लामो समयदेखि विदेशमै बसेका नेपालीहरुले विदेशमै लगानी गरेर स्थापित भएका छन् । अध्ययन, रोजगारमा गएका नेपालीहरुले पनि एक दशकमै आफ्नो व्यवसाय गरेर स्थापित भएका छन् । मलेसिया, खाडी, यूरोप, अमेरिकादेखि एसियाभित्र अरु मुलुकमा पनि नेपालीहरुको व्यवसायमा लोभलाग्दो सफलता छ ।

गैरआवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष उपेन्द्र महतो रसियामा लगानी गरेर धनाढ्य बनेका हुन् । इन्जिनियरिङ पढ्न तत्कालीन सोभियत सङ्घ पुगेका महतोले रुसमा बर्लिनको पर्खाल भत्किएपछि विदेशीले पनि व्यापार गर्न अवसरको सदुपयोग गरेर एक हजार डलरबाट व्यापार सुरु गरेका थिए । टेलिभिजन, विद्युतीय सामग्री बाहिरबाट रुसमा ल्याएर व्यापार थालेका महतोले रुसमै टेलिभिजनदेखि विभिन्न विद्युतीय सामग्री उत्पादन गर्ने कम्पनीमा लगानीदेखि रियल इस्टेट, बैङ्क, तेल प्रशोधनमा हात हाले । अहिले नेपालमा पनि लगानी बढाइरहेका महतो पछिल्लो समय नेपालमै बढी बस्ने गरेका छन् ।

गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष जीवा लामिछाने पनि रसियामै लगानी गरेर स्थापित व्यवसायी हुन् । विद्यार्थीकै हैसियतमा रसिया पुगेका उनले पनि इलेक्ट्रोनिक्स सामानको व्यापार सुरु गरेपछि लगानी बढाउँदै लगे । उनले अहिले दुबई, जर्मनी र नेपालमा लगानी बढाइरहेका छन् । त्यस्तै रसियामा बद्री केसी, सपिला राजभण्डारीले पनि व्यवसायमा लगानी गरेका छन् ।

अध्ययनका लागि अस्ट्रेलियामा पुगेका दुई दर्जन नेपाली अहिले अस्ट्रेलियामै व्यवसायमा स्थापित भएका छन् । विद्यार्थीकै हैसियतमा अस्टे«लिया पुगेका गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष शेष घले अहिले अस्ट्रेलियाकै धनाढ्यमा गनिन्छन् । उनीसँगै धनाढ्यको सूचीमा उनकी पत्नी जमुना घलेको नाम आउँछ । घले दम्पतीले अस्टे«लियामा मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी कलेज सञ्चालन गरिरहेका छन् । उनीहरुले १९९६ मा कलेज स्थापना गरेका हुन् ।

अस्ट्रेलियामा शिक्षा, घरजग्गा, हस्पिटालिटी, रेस्टुरेन्टदेखि सूचनाप्रविधिमा लगानी गर्ने नेपाली बढिरहेका छन् । विद्यार्थी भिसामै अस्ट्रेलिया पुगेका नुवकोटका किरण थापा पनि पुँजीबजारमा लगानी गर्ने नेपाली हुन् । उनले पछिल्लो पटक रियल इस्टेट व्यवसायमा पनि हात हालेका छन् । उनको आफ्नै ब्रोकर कम्पनी पनि छ ।

अध्ययनकै लागि अस्ट्रेलिया पुगेका नवलपरासीका मेघराज श्रेष्ठ पनि अस्ट्रेलियामा जमेका छन् । शिक्षा र रियल इस्टेटमा लगानी गरेका उनले त्यसको प्रतिफललाई नेपाल भित्र्याइरहेका छन् ।
अस्ट्रेलियामा रहेका नुवाकोटका धर्मराज अधिकारीले अन्तर्राष्ट्रिय चेन डोमिनोज पिज्जाका १२ ओटा आउटलेटमा लगानी गरेका छन् । अस्ट्रेलियामा झापाका दीपक खनाल, दोलखाका दीपक खड्का, प्रदीप ढकाल, चन्द्र योञ्जनलगायतले पनि उतै लगानी गरिरहेका छन् ।

गैरआवासीय नेपाली सङ्घका अध्यक्ष भवन भट्टले जापानमा होटल तथा रिसोर्टमा अर्बाैं रुपैयाँ लगानी गरिसकेका छन् । उनले युरोपमा पनि लगानी बढाइरहेका छन् । सङ्घका पूर्वअध्यक्ष देवमान हिराचनले पनि जापानमै लगानी गरेर स्थापित भए । जापानमै महेशकुमार श्रेष्ठले पनि रेस्टुरेन्ट, रेमिट्यान्समा लगानी गरेका छन् । किरणविक्रम थापा, ओम गुरुङ, डिपी कँडेल, दीपक रेग्मी, दिलु खत्री, ईश्वरी कँडेललगायत पनि जापानमै लगानी गरिरहेका छन् । जापानमा पाँच सयभन्दा बढी व्यवसायीले रेस्टुरेन्टमा लगानी गरेका छन् । त्यस्तै होटल, ट्राभल र रेमिट्यान्समा पनि लगानी गर्ने नेपाली बढी नै छन् ।

जर्मनी बस्ने कुमार पन्तले युरोपमा आफ्नो होटलको नेटवर्क बढाइरहेका छन् । जर्मनीमै बस्ने बिल गुरुङले पनि उतै लगानी गरिरहेका छन् । त्यस्तै सन्तोष भट्टराईले पनि जर्मनीमा नै आफ्नो लगानी गरेका छन् । सिङ्गापुरमा होटलमा लगानी गर्ने विश्व गिरी, दिपक गिरी, आले लामा, अजम्बर बस्नेत, मलेसियामा व्यापार गर्ने दीपक बोगटी, हाकिम श्रेष्ठ, डेबिड श्रेष्ठ, हरि भट्टराई, रमेश तिवारी, इन्द्रनारायण लिम्बू, पासाङ तामाङ पनि आफ्नै कर्मथलोमा स्थापित भएका छन् । मलेसियामा लगानी गरेर व्यवसाय गर्ने सय हाराहारीमा नेपालीहरु छन् ।

हङकङमा त्रिलोक गुरुङ, प्रकाश पुन, डीएन ज्ञवालीलगायतले निर्माण व्यवसायमा लगानी गरेका छन् । हङकङमा ठूला रेस्टुरेन्ट, डिस्को, बारदेखि ब्युटी पार्लर, किराना पसल सञ्चालन गर्ने एक सय हाराहारी व्यवसायी छन् । लन्डनमा कुल आचार्य, श्याम श्रेष्ठ, नीरज गौली, अन्दिप आचार्य, महेन्द्र कँडेल, राजन कँडेल, यादव भण्डारीलगायतले होटल, रेस्टुरेन्ट, ट्राभल, शिक्षामा लगानी गरिरहेका छन् ।
बेल्जियममा रवीन्द्रमान श्रेष्ठ, अर्जुन श्रेष्ठ, सुरेन्द्र भुसाल, कृष्ण खतिवडा, राजाराम प्रसाईं, जानकी गुरुङ, हरिकुमार थपलिया, सन्तोष प्रधान, युवराज गुरुङलगायतले लगानी गरेर व्यवसाय गरेका छन् भने नेदरल्यान्डमा श्रीराम कँडेल, निशान सापकोटालगायत जमेका छन् ।

त्यस्तै पोर्चुगलमा नरेन्द्रबहादुर हमाल, टङ्क सापकोटा, पूर्ण हमाल, भूपेन्द्र बस्नेत, पेम्छिरिङ शेर्पालगायतले लगानी गरेका छन् भने डेनमार्कमा सोम सापकोटा, सुवर्ण गौतम, दीपक सापकोटा, सुशील घिमिरे, राम कडरियालगायतको रेस्टुरेन्ट, ट्राभललगायतमा लगानी छ । स्पेनमा ललित श्रेष्ठ, लालबहादुर केसीलगायतको लगानी छ ।

अमेरिकामा सोनाम लामाको ग्यास स्टेशन र रियल इस्टेटमा लगानी छ । खगेन्द्र लामिछाने कानुन व्यवसायीका रुपमा रहेका छन् । त्यस्तै सुरेश कट्टेल, बाला घिमिरे, पुरुषोत्तम पाण्डे, लाक्पा शेर्पा, वासुदेव भण्डारी, हरिहर दाहाल, कवीन्द्र सिटौला, चेतप्रसाद पौडेललगायत नेपालीहरुको अमेरिकामा ग्यास स्टेसन, रेस्टुरेन्ट, ग्रोसरी पसलहरुमा लगानी छ । अमेरिकामा पाँच हजारभन्दा बढी नेपालीले विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।

क्यानडामा धन गिरी, विष्णु बस्याल, मोहन आचार्य, छवि अर्याल, नारायण दाहाल, जया झा, प्रताप थापालगायतले विभिन्न क्षेत्रमा लगानी गरिरहेका छन् । त्यस्तै, क्यानडामा लामो समय रहेका आदित्य झाले रियल इस्टेट, होटेल, इलेक्ट्रिोनिक्समा लगानी गरेका छन् । उनी क्यानडामा बस्ने नेपाली मुलका अर्बपतिमा गनिन्छन् ।

थाइल्यान्डमा महेन्द्र श्रेष्ठ, मनोज राना, सुनिल खड्का, प्रकाश सुवेदी, सुमन अधिकारीको विभिन्न क्षेत्रमा लगानी छ भने ओमानमा डीबी क्षेत्री, बालकृष्ण परियारले भर्खरै व्यवसाय सुरु गरिरहेका छन् । कोरियामा विनोद कुँवर, विपीन गुरुङ, लक्ष्मण बोगटी, आनन्द सिलवाल, रुद्र शर्मा, गङ्गाराज राई, केपी सिटौलालगायतले रेस्टुरेन्ट, रेमिट्यान्स, ट्राभलमा लगानी गरेर अगाडि बढेका छन् । त्यस्तै कतारमा होम आचार्य, आरके शर्मा, पिर मोहम्बद, अब्दुल वासिद, टीबी कार्की, राजु श्रेष्ठ, प्रवीण गुरुङलगायतले विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।

दुबईमा गुप्तलाल भुसाल, चित्रबहादुर केसी, मनोज गोर्खाली, ठाकुरप्रसाद ढुङ्गाना, रमेश श्रेष्ठ, शालिक सुवेदीलगायतको लगानी छ ।

नेपालीहरु पुगेको ठाउँमा उनीहरुले सानोठूलो व्यवसाय गरिरहेकै छन् । नेपालीले विदेशमा लगानी बढाइरहेको र त्यसको प्रतिफले नेपालमा बिस्तारै आउन थालेको गैरआवासीय नेपाली सङ्घका अध्यक्ष भवन भट्ट बताउँछन् । विदेशमा ‘मल्टी मिलेनियर’ साथीहरु त धेरै छैनन् । तर खातामा ‘हाफ मिलियन’ रकम राखेर बस्ने साथीहरु थुप्रै छन्,’ उनले भने ।

युरोप, अमेरिका, अस्ट्रेलिया, खाडी र मलेसियामा मात्र होइन, न्यून सङ्ख्यामा अफ्रिका पुगेका नेपालीहरुले समेत व्यवसायमा हात हालेका छन् । अफ्रिकाको केन्यामा रामचन्द्र बस्याल, कुल कार्की, सुनिल कार्की, प्रकाश रायमाझीहरु मिलेर सगरमाथा इन्जिनियरिङ लिमिटेड स्थापना गरेर व्यवसाय गरेका छन् ।

क्यापिटल बिजनेस म्यागजिनबाट