आङछिरिङ शेर्पा: जो भरियादेखि शक्तिशाली पर्यटन व्यवसायी भएर अस्ताए

पर्दापछाडी बसेर पर्यटनमा आफु अनुकुल नीति बनाउने गरेको आरोप पनि शेर्पालाई लाग्दै आएको थियो । शक्तिसँग नजिक रहेर आफुले चाहे जस्तो गरि पर्यटन क्षेत्रलाई चलाउने खोजेको आरोप उनलाई बारम्बार लाग्यो पनि । खासगरि पर्यटन मन्त्रालय, नेपाल नागरिक उडड्यन प्राधिकरण र लुम्बिनी विकास कोषमा उनको निर्णय लागू हुने आरोप उनी माथी थियो ।

काठमाडौं । नेपालको हवाई व्यवसायमा ‘गेम मेकर’ थिए, आङछिरिङ शेर्पा । यति एयरलाइन्स, तारा एयरलाइन्स र पछिल्लो पटक हिमालय एयरलाइन्समा उनको लगानी थियो । बुधबार ताप्लेजुङमा दुर्घटना भएको एयर डाइनेष्टिक हेलिकप्टरमा पनि छिरिङको साझेदारी थियो । उड्डयन व्यवसायमा छलाङ मार्दै बढिरहेका छिरिङको बुधबारको एयर डाइनेष्टिक हेलिकोप्टर दुर्घटनामा ज्यान गयो ।

उडड्यन व्यवसायमा मात्र होइन उनले होटल, ट्राभल, रिसोर्टमा समेत लगानी गरेका छन् । काठमाडौंको गोकर्ण फरेष्ट रिसोर्ट, थामसेर्कु ट्रेकिङ, नाम्चेमा यति माउन्टेन होम्सदेखि झापामा बन्दै गरेको होटल मेची क्राउनमा समेत उनको लगानी छ । शेर्पाले हिमाली क्षेत्र मुस्ताङ, नाम्चेदेखि पोखरा र पूर्वसम्ममा होटल तथा रिसोर्ट स्थापना गरिसकेका थिए ।

आङछिरिङका तीन दाजुभाई

सोलुखुम्बुको खरीखोला भन्ने ठाउँमा जन्मेका शेर्पा पर्यटन व्यवसायमा जम्नुअघि ठूलै संघर्ष गरे । उनीसँग भेट हुने नजिक पर्यटन व्यवसायीलाई उनी भन्ने गर्थे, म पर्यटन व्यवसायमा आउँदा ठूलै संघर्ष गरे । ट्रेकिङ हिड्दा भरिया त्यसपछि किचेन ब्याय भएका शेर्पा सन् १९९० पछि पर्यटन व्यवसायीको रुपमा उदाउँदै त्यसयता नेपालकै शक्तिशाली पर्यटन व्यवसायीमा दरिए पनि ।

नेपालको पर्यटन र उडड्यन व्यवसायमा अर्बाै लगानी गरेर पनि उनी कहिल्यै ‘पब्लिसिटी’मा आएनन् । मिडियासँग टाढा नै रहन चाहने शेर्पाको अर्काइभ तस्विर पनि मिडिया हाउसहरुसँग पर्याप्त छैन । त्यसैले उनीसम्बद्ध समाचार हुँदा फोटोका लागि गुगलमा सर्च गर्दा पनि उनको फोटो खासै भेटिदैन ।

पर्दापछाडी बसेर पर्यटनमा आफु अनुकुल नीति बनाउने गरेको आरोप पनि शेर्पालाई लाग्दै आएको थियो । शक्तिसँग नजिक रहेर आफुले चाहे जस्तो गरि पर्यटन क्षेत्रलाई चलाउने खोजेको आरोप उनलाई बारम्बार लाग्यो पनि । खासगरि पर्यटन मन्त्रालय, नेपाल नागरिक उडड्यन प्राधिकरण र लुम्बिनी विकास कोषमा उनको निर्णय लागू हुने आरोप उनी माथी थियो ।

शेर्पाको व्यावसायिक यात्रा सन् १९८८ ताका उनको आफ्नो दिदी आइडाली शेर्पाले सञ्चालन गरेको शेर्पा सोसाइटी ट्रेकिङ कम्पनीमा महाप्रबन्धक भएर सुरु भयो । दिदीले शेर्पा सोसाइटी सुरु गर्दा उनको दाई लाक्पा सोनाम शेर्पा र भाउजु पासाङ ल्यामु शेर्पाले पनि थामसेर्कु ट्रेकिङ सुरु गरिसकेका थिए ।

दिदीको शेर्पा सोसाइटीमा २ बर्ष काम गरेर शेर्पा दाजु सोनाम शेर्पाको थामसेर्कु ट्रेकिङमा गए । थामसेर्कुमा शेर्पाका तीन भाई आङ टेण्डी, सोनाम र आङ छिरिङले मिलेर काम गरे । शेर्पाका तीन भाईले नै हिमाल जाने पर्यटकलाई सुरुमा गाइडको पनि काम गरेका थिए ।
शेर्पाको परिवारमा भएको यो तेस्रो ठुलो दुर्घटना हो । २०५५ सालमा आङछिरिङका कान्छा भाइ टेण्डी शेर्पा उद्धारमा जाँदा सोलुखुम्बुको बासा भन्ने ठाउँमा एमआइ १७ हेलिकप्टर दुर्घटनामा परी मृत्यु भयो। उनकी भाउजू पासाङ ल्हामु शेर्पाको २०५० वैशाख १० गते सगरमाथाको आरोहण गरी फर्कने क्रममा हिमपहिरोमा परेर मृत्यु भयो।

सन् १९९८ मा शेर्पा दाजुभाई मिलेर यति एयरलाइन्स स्थापना गरे । सन् १९९८ को सेप्टेम्बरमा यतिको ट्विनअटर जहाजले व्यावसायिक उडान गर्यो । त्यो व्यावसायिक उडानपछि आङछिरिङ नेपालको शक्तिशाली पर्यटन व्यवसायीमा स्थापित हुँदै गए । यति एयरलाइन्सको उडानले उचाई लिइरहेको समयमा आङछिरिङले सन् २००९ मा तारा एयरको अर्काे एयरलाइन्स कम्पनी पनि स्थापना गरे ।

सन् २०१४ मा नेपाल चीन संयुक्त लगानीमा स्थापना भएको हिमालय एयरलाइन्समा आङ छिरिङ शेर्पाको लगानी छ । हिमालय एयरलाइन्समा आङछिरिङले पछिल्लो पटक सेयर स्वामित्व पनि बढाउँदै लगेका थिए ।

समिट एयरका सिइओ तथा पर्यटन व्यवसायी सुमन पाण्डे भन्छन, ‘आङछिरिङ पर्यटन क्षेत्रमा एक योद्धा थिए, नेपालको पर्यटनमा नयाँनयाँ आइडिया ल्याउने र त्यसलाई सफलतापूर्वक कार्यान्वयन गर्ने आँट उनीमा थियो,’ ।

नेपालको राजनीतिमा ‘पावर होल्ड’ गर्ने सिमिति व्यवसायीमा पर्ने शेर्पा प्रधानमन्त्री केपी शर्मा ओली निकट व्यवसायीको रुपमा समेत हेरिन्थ्यो । शेर्पाले नेपालको पर्यटन क्षेत्रमा २५ अर्ब रुपैयाँ भन्दा बढि लगानी गरिसकेको पर्यटन व्यवसायीहरुको अनुमान छ ।