खानेपानी आयोजना निर्माण

गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले विनियोजन गरेको बजेटअन्तर्गत प्रदेशमै प्रदेश सरकारको लगानीमा निवेल खानेपानी आयोजना निर्माण सम्पन्न भएको हो ।

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–१ निवेलमा करिब ६० लाख रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले विनियोजन गरेको बजेटअन्तर्गत प्रदेशमै प्रदेश सरकारको लगानीमा निवेल खानेपानी आयोजना निर्माण सम्पन्न भएको हो ।

कुल ५९ लाख ५३ हजार ४२ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको आयोजनाबाट भीमसेन थापा गाउँपालिका निवेलका–४५ घरपरिवारले स्वच्छ खानेपानीको सुविधा पाएका छन् । उक्त आयोजना सम्झौता भएको करिब तीन महिनामा नै निर्माण सम्पन्न भएको मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाले जानकारी दिए ।

मन्त्रालयले करिब ९४ लाख ६८ हजार रकम लागत अनुमान गरेको भए पनि स्थानीय उपभोक्ता समितिको श्रमदानसहित अनुमान गरिएभन्दा कम खर्चमा आयोजना सम्पन्न भएको उनले बताए । उक्त आयोजनामा उपभोक्ता समितिले १२ लाख १२ हजार रुपैयाँबराबरको श्रमदान गरेको आयोजनाका इञ्जिनियर इन्द्रप्रताप बोहोराले जानकारी दिए ।

स्थानीय चिउरीगैरास्थित सुपुङ्गे खोलाको मुहानदेखि डेढ किलोमिटर दूरीबाट ल्याइएको पानी ट्याङ्कीमा सङ्कलन गरी वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर बानियाँले जानकारी दिए । पानी वितरणका लागि ३५ हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरिएको र सबै घरमा धारा बनाई पानी वितरण गरेको उनको भनाइ छ ।

विसं २०७२ वैसाख १२ गतेको बिनाशकारी भूकम्पले यसअघिको आयोजनामा पूर्णरुपमा क्षति पु¥याएपछि त्यहाँका स्थानीयवासीले खानेपानीको समस्या भोग्दै आएका थिए । रासस