आयोजना निर्माणका लागि नेपालीको १० र चिनियाँ कम्पनीको ९० प्रतिशत लगानी गर्ने कार्य योजना तय भई प्रारम्भिक चरणको निर्माण कार्य अगाडि बढिसकेको लाङ्टाङ भोटेकोशीका आयोजना प्रवन्धक चिनियाँ नागरिक लीले जानकारी दिए ।
रसुवा । जिल्लाको उत्तरी क्षेत्र रोङ्गा दोभान नजिक १२० मेगावाटको लाङ्टाङखोला जलविद्युत् आयोजनाको काम अगाडि बढेको छ । प्रर्वद्धक लाङ्टाङखोला भोटेकोसी हाइड्रो कम्पनीले आयोजना निर्माण गर्न स्थानीय तहअन्र्तगतका निकायसँग समन्वय गरी काम अघि बढाएको जिल्ला समन्वय समिति रसुवाका प्रमुख कुलप्रसाद भट्टले जानकारी दिए ।
स्थानीय तहसँग यसअघि समन्वय नगरेको गुनासो आएपछि उक्त आयोेजनाले ढिलै भए पनि यहाँका सरोकारवाला निकायलाई जानकारी गराई अघि बढ्दा निर्माणका बेला आउन सक्ने समस्या समाधान गर्न स्थानीय तहबाट सहजीकरण गर्ने वातावरण सिर्जना भएको जिल्ला समन्वय प्रमुख भट्टले जानकारी दिए ।
गोसाइँकुण्ड गाउँपालिकाको वडा नं १ अर्थात् टिमुरेको तातोपानी तल भोटेकोशीमा बाँध बाँधी ५.२ किलोमिटर सुरूङ बनाइनेछ । आमाछोदिङ्मो गाउँपालिका वडा नं ५ रोङ्गाखोला नजिक पहराभित्र निर्माण हुने भूमिगत विद्युत्गृहमा प्रति सेकेण्ड १४३ घनमिटर पानी पठाई तीन वटा टर्वाइनको सहायताले १२० मेगावाट विद्युत् उत्पादन हुने बताइएको छ ।
आयोजना निर्माणका लागि नेपालीको १० र चिनियाँ कम्पनीको ९० प्रतिशत लगानी गर्ने कार्य योजना तय भई प्रारम्भिक चरणको निर्माण कार्य अगाडि बढिसकेको लाङ्टाङ भोटेकोशीका आयोजना प्रवन्धक चिनियाँ नागरिक लीले जानकारी दिए ।
चार वर्षको समयावधिभित्र सम्पन्न गर्ने लक्ष्यसाथ शुरू भएको सो आयोजनामा करीब २३ अर्ब ८० करोड रुपैयाँ खर्च हुने जानकारी दिँदै मेनेजर लिले आयोजनाले जल, जमीन र जङ्गल प्रयोग गर्दा स्थानीय बासिन्दालाई पर्ने प्रभावको असर न्यूनीकरण गर्न लागतको ०.७५ प्रतिशत रकम सामूहिक विकासमा खर्च गरिने बताए।
आयोजनाबाट विद्युत उत्पादन गर्न सरकारले अनुमतिपत्र (लाइसेन्स) दिइसकेको छ । यस्तै नेपाल विद्युत प्राधिकरण र कम्पनीबीच विद्युत खरिदबिक्री सम्झौता (पीपीए) पनि भइसकेको छ ।
आयोजना निर्माणका लागि स्याफ्रु्बेसीको भोटेकोशी र लाङ्टाङ खोलाको सङ्गमस्थलमा आफ्नो आधार इलाका जाने बेलीब्रिज एवं सडकमार्ग निर्माण सम्पन्न गरी विद्युत्को निर्माण काम अगाडि बढाउँदै लगेको छ । रासस