अमेरिकी बैङ्क जेपी मोर्गान चेसले गर्यो क्रिप्टोकरेन्सी लन्च

जेपी मोर्गान बैङ्कले आफ्नो नयाँ वित्तीय मुद्राले पैसा ट्रान्सफरको सेवालाई छिटो बनाउनुका साथै सेवाग्राहीले बोक्नुपर्ने पुँजीको मात्रालाई घटाएर सेवाग्राहीहरुको खर्च र चुनौतीलाई कम गर्ने विश्वास गरेको छ । बैङ्कले आफ्ना सेवाग्राहीहरुका लागि दैनिक सयौं खर्ब अमेरिकी डलरहरु विश्वभरी पुर्याउँदै आएको छ ।

एजेन्सी, ३ फागुन । विख्यात अमेरिकी बैङ्क जेपी मोर्गान चेसले आफ्नै डिजिटल मुद्रा क्रिप्टोकरेन्सी लन्च गरेको छ । जेपीएम कोइन नाम दिइएको त्यस क्रिप्टोकरेन्सीको निश्चित मूल्य छ, जुन एक अमेरिकी डलरसँग साटिन सक्छ ।

तर यसलाई अन्य क्रिप्टोकरेन्सी र बिटकोइन जसरी खुला प्रयोग गर्न पाइनेछैन । जेपीएम कोइन प्राथमिक रुपमा व्यक्तिगत सेवाग्राहीका लागि भन्दा पनि प्रमुख संस्थागत सेवाग्राहीहरुका लागि डिजाइन गरिएको हो । तर बैङ्कले यस वर्षपछि आफ्नो सेवालाई व्यापक सेवाग्राहीसम्म पुर्याउने अपेक्षा गरेको छ ।

जेपी मोर्गान बैङ्कले आफ्नो नयाँ वित्तीय मुद्राले पैसा ट्रान्सफरको सेवालाई छिटो बनाउनुका साथै सेवाग्राहीले बोक्नुपर्ने पुँजीको मात्रालाई घटाएर सेवाग्राहीहरुको खर्च र चुनौतीलाई कम गर्ने विश्वास गरेको छ । बैङ्कले आफ्ना सेवाग्राहीहरुका लागि दैनिक सयौं खर्ब अमेरिकी डलरहरु विश्वभरी पुर्याउँदै आएको छ ।

जेपी मोर्गानले यसप्रकारको डिजिटल मुद्रा बनाएर सफलतापूर्वक प्रयोग गर्ने आफू पहिलो अमेरिकी बैङ्क भएको दाबी गरेको छ । तर न्युयोर्क आधारित सिग्नेचर बैङ्कले पनि आफ्नो व्यापारी सेवाग्राहीहरुका लागि जनावरी १ बाट ब्लकचेन प्लेटफर्म सुरु गरेको छ । जेपीएम कोइनसरह सिग्नेचरको यस प्लेटफर्ममा पनि लेनदेन डलरमा निश्चित छ । यसले पनि खुल्ला व्यापार गर्ने क्रिप्टोकरेन्सी बिटकोइन प्रयोग गर्दैन ।

सिग्नेचर बैङ्कका सीइओ जोसेप डिपाओलोले भन्छन्, बैङ्कले ब्लकचेन प्रविधि प्रयोग गर्ने अभ्यास तीव्र रुपमा फैलिरहेको छ ।
उनले भने, ‘यदि तपाई बैङ्क भएर पनि ब्लकचेन प्रविधिको प्रयोग गर्नुहुँदैन भने आगामी तीनदेखि सात वर्षभित्र तपाईंको अस्तित्व रहनेछैन ।’ ब्लकचेन प्रविधिले लेनदेनको स्पष्ट रेकर्डसहित भुक्तानी ट्रान्सफरलाई छिटो बनाउँछ ।

२०१७ मा जेपी मोर्गानका सीर्इओ जेमी डिमोनले बिटकोइनलाई फर्जी, मूर्ख र एकदमै खतरा भनि टिप्पणी गरेका थिए । विश्वकै उत्कृष्ट क्रिप्टोकरेन्सी मानिने विटकोइन सफलताको शिखरमा पुगेयता आफ्नो ८० प्रतिशतभन्दा अधिक मूल्य गुमाइसकेको छ ।