पचास स्थानीय तहमा बैङ्कका शाखा पुग्न बाँकी

नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्लो छ महिनाको विवरणअनुसार कुल ७५३ स्थानीय तहमध्ये ७०३ स्थानीय तहमा बैङ्कका शाखा पुगेका छन् ।

काठमाडौँ । हरेक स्थानीय तहमा बैङ्कका शाखा पु¥याउने सरकारको लक्ष्य पूरा हुने चरणमा पुगेको छ ।

नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्लो छ महिनाको विवरणअनुसार कुल ७५३ स्थानीय तहमध्ये ७०३ स्थानीय तहमा बैङ्कका शाखा पुगेका छन् ।

नागरिकलाई वित्तीय पहुँच पु¥याउने लक्ष्यका साथ सरकारले बैङ्कको शाखा विस्तारलाई प्रमुख प्राथमिकतामा राखेको छ । बाँकी रहेको ५० स्थानीय तहमध्ये चालू आर्थिक वर्षको अन्त्यसम्म धेरैजसो स्थानीय तहमा बैङ्कका शाखा पुग्ने विश्वास व्यक्त गरिएको छ ।

केन्द्रीय बैङ्कका अनुसार प्रदेश १ का कुल १३७ स्थानीय तहमध्ये चालू आवको छ महिनासम्म १२७ तहमा बैङ्कका शाखा पुगेका छन् । सो प्रदेशमा अझै दश स्थानीय तहमा बैङ्कका शाखा पुग्न बाँकी छन् ।

प्रदेश २ का १३६ स्थानीय तहमध्ये हालसम्म १३३ स्थानीय तहमा बैङ्कका शाखा खुलेका छन् । सो प्रदेशका तीन ओटा तहमा मात्रै बैङ्कका शाखा पुग्न बाँकी छ ।

प्रदेश ३ का ११९ तहमध्ये चालू आवको छ महिनामा ११३ स्थानीय तहमा बैङ्कका शाखा पुगेका छन् । सो प्रदेशमा छ स्थानीय तहमा मात्रै बैङ्कका शाखा खुल्न बाँकी रहेको राष्ट्र बैङ्कको तथ्याङ्कमा समावेश छ ।

गण्डकी प्रदेशका कुल ८५ तहमध्ये ८२ स्थानीय तहमा बैङ्कका शाखा खुलेका छन् । सो प्रदेशका तीन स्थानीय तहमा नै बैङ्कका शाखा खुल्न बाँकी छन् । प्रदेश ५ का कुल १०९ स्थानीय तहमध्ये १०७ स्थानीय तहमा बैङ्कका शाखा खुलेका छन् । कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये ६३ स्थानीय तहमा बैङ्कका शाखा खुलेका छन् । बैङ्ककाअनुसार सुदूरपश्चिम प्रदेशका कुल ८८ स्थानीय तहमध्ये ७८ तहमा बैङ्कका शाखा खुलेका छन् ।

केही दिन पहिले प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले बैङ्कका शाखा नपुगेका स्थानीय तहमा चालू आवको अन्त्यसम्ममा बैङ्कका शाखा पु¥याउने लक्ष्यअनुसार काम भइरहेको जानकारी दिएका थिए ।

वित्तीय स्थायित्व सुदृढीकरण गर्ने लक्ष्यका साथ राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई गाभ्ने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गरेपछि गत पुस मसान्तसम्म कुल १६४ बैङ्क तथा वित्तीय संस्था गाभिएका छन् । त्यसमा कुल १२२ संस्थाको इजाजत खारेज भई कुल ४२ मा सीमित भएका छन् ।

गत पुस मसान्तसम्म २८ वाणिज्य बैङ्क, ३३ विकास बैङ्क, २४ वित्त कम्पनी, ७२ लघुवित्त संस्था सञ्चालनमा छन् । बैङ्क तथा वित्तीय संस्थाको शाखा २०७५ असारमा छ हजार ६५१ रहेकोमा पुस मसान्तसम्म सात हजार ५९१ पुगेको छ । –रमेश लम्साल / रासस