लट २ को काम सुरु गर्न सिनो साइटमा परिचालन भइसकेको छ । लट १ को काम सुरु नभएपछि लट २ को काम पनि प्रभावित भई सिनोले दाबी गर्न सक्ने अवस्था आएपछि आयोजनाले उसैलाई दिन लागेको हो ।
काठमाडौं । इटालियन ठेकेदार कोअपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सीएमसी) सँग ठेक्का तोडिने भएपछि लट १ को केही काम लट २ को ठेकेदार सिनो हाइड्रो कर्पोरेसनलाई दिने तयारी सुरु भएको छ ।
लट १ मा पर्ने सडकलगायत अन्य अत्यावश्यक पूर्वाधारका काम सिधै सिनोलाई दिने गरी काम अघि बढेको प्रवद्र्धक तनहुँ हाइड्रो लिमिटेडका प्रवन्ध सञ्चालक प्रदीपकुमार थिकेले बताए । लट १ मा भएको ढिलाइले लट २ को काम रोकिनु हुँदैन भनेर सिनोलाई नै पहिलो लटको सडकलगायत केही पूर्वाधार निर्माणको जिम्मा दिन लागेको उनले जानकारी दिए । लट २ को काम सुरु गर्न सिनो साइटमा परिचालन भइसकेको छ । लट १ को काम सुरु नभएपछि लट २ को काम पनि प्रभावित भई सिनोले दाबी गर्न सक्ने अवस्था आएपछि आयोजनाले उसैलाई दिन लागेको हो ।
लट १ को सडकलगायतका काम कसरी अघि बढाउने भन्ने विषयमा छलफल भइरहेको र पहुँचमार्गको काम सिनोले सक्ने गरी छलफल भइसकेको उनले बताए । यस विषयमा सहमति भइनसकेको थिकेले सुनाए ।
तनहुँ जलविद्युतले दिएको २८ दिन समयसीभित्र काम गर्न नआएपछि सीएमसीसँग ठेक्का सम्झौता तोडिने अवस्थामा पुगेको हो । आयोजनाको जडित क्षमता १४० मेगावाट छ ।
प्रवद्र्धक तनहुँ हाइड्रोले गत माघ ४ गते सीएमसीलाई पत्राचार गरी २८ दिनभित्र आयोजनाको काम सुरु गर्न भनेको थियो । तनहुँले सीएमसीलाई दिएको समय शनिबार सकिएको छ । २८ दिनभित्र काम सुरु नगरेकाले सीएमसीसँगको ठेक्का तोड्न बाटो खुलेको हो । आयोजनाको पहिलो लटको कामका लागि पुनः विश्वव्यापी बोलपत्र आह्वान (ग्लोबल टेन्डर) हुने भएको छ ।
सीएमसीले तनहुँसँग आयोजनाको नदी फर्काउन अस्थायी बाँध, मूल बाँध र पहुँच सडक निर्माणका लागि २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता भए पनि तनहुँले उसलाई परिचालन पेस्की (मोबिलाइजेसन पेस्की) दिएको छैन ।
सिनोले आयोजनाको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान, सञ्चालनलगायत दोस्रो प्याकेजका लागि झन्डै १७ अर्ब रुपैयाँ अर्थात् ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर र ३ अर्ब ८३ करोड १४ लाख रुपैयाँमा ठेक्का लिएको हो ।
सीएमसी मेलम्ची खानेपानी आयोजनाबाट ठेक्का तोडेर विवादमा आएको हो । मेलम्ची खानेपानी विकास समितिले सीएमसीको २ अर्ब ५६ करोड रुपैयाँ जमानत जफत गरिसकेको छ । सीएमसीले सामान आपूर्ति र स्थानीय ठेकेदारलगायत अन्य आपूर्तिकर्तालाई १ अर्ब २२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
दुवै प्याकेजको सम्पूर्ण निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य निर्धारण गरी ठेक्का सम्झौता गरिएकोमा यो कार्यतालिका पनि प्रभावित हुने भएको छ । लट ३ अन्तर्गत विद्युत् गृहदेखि भरतपुरसम्म विद्युत् प्रसारणका लागि आवश्यक २२० केभी क्षमताको प्रसारणलाइनको कामको ठेक्का भारतको केईसी इन्टरनेसनल लिमिटेडले जिम्मा पाइसकेको छ ।
याे पनि पढ्नुहाेस् ।