आगामी २०७५ चैत १५ र १६ गते हुन लागेको लगानी सम्मेलन हुन लागेको सन्दर्भमा इप्पानले विगतमा सरकारले वाचा गरेर पूरा नगरेको केही नीतिगत कुराहरु तत्काल समाधान गर्न लाग्नुपर्ने मङ्गलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो ।
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले ऊर्जा क्षेत्रको लगानीमा समस्यै समस्या भएकाले नीतिगत रुपमा सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
आगामी २०७५ चैत १५ र १६ गते हुन लागेको लगानी सम्मेलन हुन लागेको सन्दर्भमा इप्पानले विगतमा सरकारले वाचा गरेर पूरा नगरेको केही नीतिगत कुराहरु तत्काल समाधान गर्न लाग्नुपर्ने मङ्गलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो ।
अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि राजनीतिक स्थायित्वसँगै लगानीमैत्री वातावरण बनेको भन्दै स्वदेशी लगानीकर्ताहरु प्रोत्साहित गर्ने गरी ठोस योजना बनाउन इप्पानले आग्रह गरेको हो । २५ प्रवद्र्धकहरुसँग दोहोरो सम्झौता (पोस्टेड रेट) गरी विद्युत खरिदबिक्री सम्झौता गरे तापनि सो संशोधित सम्झौताअनुसार हालसम्म त्यस्ता आयोजनाहरुले सर्तअनुसार भुक्तानी प्राप्त नगरेका, प्रतिमेगावाट विद्युत् उत्पादन गर्ने प्रवद्र्धकलाई ५० लाख अनुदान दिने व्यवस्था कार्यान्वयन नभएको, विद्युत् प्राधिकरणले प्रसारण लाइनको जिम्मा लिएर बनाउन नसकेको कारण विद्युत् खेर जाने अवस्था रहेको समस्या रहेको भन्दै यस्ता समस्या समाधान गर्न सरकारले ठोस कदम चाल्नुपर्ने इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले बताए ।
ऊर्जामा लगानी गर्दा अमेरिकी डलरको भाउमा देखिएको उतारचढाव, झन्झटिलो प्रक्रिया, जग्गा, वन, स्थानीय सरकारको अवरोध, सार्वजनिक खरिद ऐनका कारणसमेत जलविद्युत् आयोजना निर्माणमा समस्या देखिएकाले त्यसको तत्काल समाधानतर्फ सरकार लाग्नुपर्ने गुरागाईंले बताए ।
२०६८ सालभन्दा अघि विद्युत् खरिद सम्झौता गरेका जलविद्युत् आयोजनाहरुको अवस्था रुग्ण अवस्था रहेकाले ती आयोजना समयमै सम्पन्न गर्न सहज वातावरण बनाउने इप्पानले आग्रह गरेको छ ।