तनहुँ हाइड्रोले पनि सीएमसीसँगको ठेक्का तोडेको पत्र पठायो, सीएमसीकै कारण आयोजना १ बर्ष पर धकेलिदै

सीएमसीले तनहुँसँग आयोजनाको नदी फर्काउन अस्थायी बाँध, मूल बाँध र पहुँच सडक निर्माणका लागि २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता भए पनि तनहुले उसलाई परिचालन रकम (मोबिलाइजेसन पेस्की) दिएको छैन ।

काठमाडौं । तनहुँ हाइड्रो लिमिटेडले इटालियन ठेकेदार कोअपरेटिभ मुरातोरी एन्ड सिमिस्ट्री सीएमसीसँगको ठेक्का तोडको पत्र पठाएको छ । १४० मेगावाट क्षमताको आयोजनाको प्रवद्र्धक तनहुँले सीएमसीलाई २८ दिनभित्र काममा फर्कन समय दिएको थियो ।

समय सीमाभित्र पनि सीएमसी आयोजनामा नफर्किएपछि बाध्य भएर ठेक्का सम्झौता तोडिएका तनहुँ हाइड्रोपावर कम्पनीका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिकेले जानकारी दिए ।

तनहुँले माघ ४ गते सीएमसीलाई पत्राचार गरी २८ दिनभित्र आयोजनाको काम सुरु गर्न भनेको थियो । एमसीसँगे ठेक्का तोडिएपछि पुन विश्वव्यापी बोलपत्र आह्वान गर्नुपर्दा आयोजना थप एक बर्ष ढिला हुने थिकेले बताए । ‘सीएमसीलाई फर्कन मौका दियौं । तर, नफर्केपछि ठेक्का तोडेको पत्र पठाएका छौं’ उनले भने, ‘सीएमसीकै कारण आयोजना थप एक बर्ष ढिला हुने भइहाल्यो ।’

सीएमसीले तनहुँसँग आयोजनाको नदी फर्काउन अस्थायी बाँध, मूल बाँध र पहुँच सडक निर्माणका लागि २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता भए पनि तनहुले उसलाई परिचालन रकम (मोबिलाइजेसन पेस्की) दिएको छैन ।

दोस्रो लटको काम गर्न चीनको सिनो हाइड्रो कर्पोरेशनले आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान, सञ्चालनलगायत दोस्रो प्याकेजका लागि झन्डै १७ अर्ब रुपैयाँ अर्थात ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर र ३ अर्ब ८३ करोड १४ लाख रुपैयाँमा ठेक्का सम्झौता लिएको छ ।

दुवै प्याकेजको सम्पूर्ण निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य निर्धारण गरी ठेक्का सम्झौता गरिएकोमा यो कार्यतालिका पनि प्रभावित हुने भएको छ । लट ३ अन्तर्गत विद्युत गृहदेखि भरतपुरसम्म विद्युत प्रसारणका लागि आवश्यक २२० केभी क्षमताको प्रसारणलाइनको कामको ठेक्का भारतको केइसी इन्टरनेसनल लिमिटेडले जिम्मा पाइसकेको छ ।