विस्थापितको आशा पुनर्जीवित पार्दै निर्माणाधीन तातोपानी नाका

अहिले दर्जनौं नेपाली युवा बाह्रबिसेदेखि सीमाक्षेत्रसम्म सडक सुधार परियोजनामा काम गर्दैछन् । यो चीनले निर्माण गरेको अरनिको राजमार्गको एउटा प्रमुख सडकखण्ड हो । काठमाडौंलाई चीनसँग जोड्ने यो सबैभन्दा छोटो बाटो हो ।

नेपाल चीन सीमा क्षेत्रबाट केही घण्टा पैदल यात्राको दुरीमा बस्छन् २३ वर्षका विशाल तामाङ । २०७२ सालको विनाशकारी भूकम्पपछि तातोपानी–खासा नाका बन्द भयो, र तामाङ रोजगारी तथा परिवारको जीविकोपार्जनमा सहयोग जुटाउन वैदेशिक रोजगारीको बाटो रोजी मलेसिया पुगे ।

तर, सो प्रकोपको तीन वर्षपछि अहिले तामाङ देश फर्केका छन् र अरनिको राजमार्गको सुधार परियोजनामा मजदुरका रुपमा काम गरिरहेका छन् । यो सबैको मूल श्रेय तामाङले तातोपानी सीमा पुनः खोलिनुलाई दिन्छन् जुन यसै वर्षको मे महिनाभित्र पूरा हुने सम्भावना छ ।

‘मैले सुनें सीमाक्षेत्र फेरि खुल्दैछ । त्यसैले म देश फिर्ता आएँ । एक पटक यो सीमा खुल्यो भने मलाई आशा छ, हाम्रो जीवन फेरि सामान्य हुने छ,’ तामाङले कार्यस्थलबाट सिन्ह्वासँग भने ।

तामाङका अनुसार उनी दिनहुँ बिहान ७ देखि साढे ५ बजेसम्म काम गर्छन् । पहाडबाट सडकमा खसेका ढुङ्गा हटाउने गर्ने काम गर्छन् र यही कामबाट उनी प्रतिदिन आठ सय रुपयाँ कमाउँछन् र आफ्नो छ जनाको परिवारलाई जीविकाका लागि सहयोग गर्छन् ।

विशाल तामाङ मात्र होइन अहिले दर्जनौं नेपाली युवा बाह्रबिसेदेखि सीमाक्षेत्रसम्म सडक सुधार परियोजनामा काम गर्दैछन् । यो चीनले निर्माण गरेको अरनिको राजमार्गको एउटा प्रमुख सडकखण्ड हो । काठमाडौंलाई चीनसँग जोड्ने यो सबैभन्दा छोटो बाटो हो ।

सीमाक्षेत्र रहेको भोटेकोसी गाउँपालिकाका वडा नम्बर २ का अध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठ भन्छन्, ‘मेरो वडामा मात्रै नौ सय घरपरिवारमध्ये ६ सयभन्दा धेरै परिवार भूकम्प र अन्य प्रकोपका कारण विस्थापित भए । धेरैजना काठमाडौं गए । स्थानीय युवा मध्यपूर्व र खाडी मुलुकतिर रोजगारीका लागि गए ।’ अध्यक्ष श्रेष्ठले विस्थापित परिवार आफ्नो व्यापार र सामान्य जीवनमा फर्किने आशा लिएर अहिले गाउँ फर्किरहेको बताए ।

लार्छा, तातोपानी, लिपिङ, कोदारी गाउँका मानिसहरु जीविकाका लागि होटल, पसल र साना व्यापार सञ्चालन गर्न सीमामा मात्र निर्भर छन् ।

स्थानीय अधिकारीहरुका अनुसार चिनियाँ कामदार सीमा–नाकालाई उसको पुरानो रुपमा फर्काउन रातदिन काम गरिरहेका छन् । उनीहरु अहिले सडक सुधार, भोटेकोसी नदीमा ‘मितेरी पुल’ र आधुनिक सुख्खा बन्दरगाहको निर्माण गर्दैछन् ।

भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले भने, ‘सुख्खा बन्दरगाहको ९० प्रतिशतभन्दा धेरै निर्माण कार्य सम्पन्न भइसकेको छ । सडक सुधार र मितेरी पुल निर्माणको कार्य तीव्र गतिमा भइरहेको छ । दुई वर्षसम्म बन्द भएको सीमा खुलेको हेर्न सबैजना आतुर छन् ।’

आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले उक्त क्षेत्रको निरीक्षण गरेका थिए र सम्बन्धित संस्थाहरुलाई नेपालका तर्फबाट आवश्यक काम चाँडो सुरु गर्न निर्देशन दिएका थिए ।

नेपाली अध्यागमन, संस्कृति तथा क्वारेनटाइन कार्यालयले नयाँ निर्माण गरिएको सुख्खा बन्दरगाहबाट कार्य सञ्चालन गर्ने अपेक्षा गरेका छन् । उक्त सुख्खा बन्दरगाह केही दिनअघि सीमाक्षेत्रभन्दा केही किमी टाढा चिनियाँ रेलमार्ग निर्माणकर्ता कम्पनीले निर्माण गरेको हो ।

उक्त अन्तर्राष्ट्रिय गुणस्तरको सुख्खा बन्दरगाहमा तीनसय कन्टेनर, गोदाम, चेकिङ यार्ड, बैङ्क, पार्किङ तथा आवासीय कम्प्लेक्स थेग्न सक्ने क्षमता छ ।

ट्रान्स हिमालयन एसोसिएसनका हजारौं व्यापारी अहिले निकै आशावादी छन् । सीमा खुलेपछि उनीहरुको व्यापार र देशको अर्थतन्त्र पुनर्जीवित हुने उनीहरुको आशा छ । एसोसिएसनका सचिव भक्त पराजुलीले भने, ‘तातोपानी नाका खुलेपछि यसले स्थानीय र केन्द्रीय तहमा ठूलो परिवर्तन ल्याउने छ । यो द्विपक्षीय व्यापार र देशको उन्नतिका लागि कोशेढुङ्गा बन्नेछ ।’

भूकम्पपछि नाका बन्द भएयता रसुवा जिल्लाको केरुङ मात्र नेपाल र चीनबीच व्यापार हुने एउटै नाका थियो ।