नेपालीलाई विदेशमा लगानी खाेल्ने बेला भइसक्याे : उद्योगी राजेन्द्र खेतानको विचार

पुँजी भनेको तरल हो । यो बग्छ । त्यसैले विदेशमा लगानी खुला भयो भने सीमासहित खोल्नुहुँदैन । व्यापारमा लगानी हुने हो । त्यसैले खुला छोडिनुपर्छ । नेपालबाट लगानी लैजाँदा नेपालमा कर तिरेको छ कि छैन, नाफा गरेको छ कि छैन, बरू ती प्रक्रिया भने हेर्नुपर्छ ।

विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन २०२१ ले कुनै पनि नेपालीले नेपालभन्दा बाहिर सम्पत्ति राख्न पाइँदैन भनेर रोक लगाएको छ । गैरआवासीय नेपालीले पनि गैरआवासीय नेपालीसम्बन्धी ऐन २०६४ आउनुभन्दा अगाडि गरेको लगानी र राखेको सम्पत्ति पनि एक प्रकारको गैरकानुनी हो । गैरआवासीय ऐन आएपछि नेपालबाहिर बसिरहेका नेपालीहरुलाई लगानी र सम्पत्ति राख्न कानुनले नै खोलिदियो ।

नेपालीले विदेशमा लगानी गर्ने विषयमा धेरै पहिलादेखि नै बहस भइरहेको छ । म सांसद हुँदा पनि नेपालबाट पैसा बाहिर गइरहेको थियो र अहिले पनि गइरहेको छ । यसमा कदम चाल्नुपर्छ भनेर पनि बहसहरु भए । खासगरी राजनीतिक नेता र उच्चपदस्थ कर्मचारीहरुका नातागोता आफन्त विदेश हुन्छन् र पढाउँछन् । उनीहरुको मात्र पैसा बाहिर जान्छ र उनीहरुको सम्पत्ति विवरण लिने प्रचलन नै उथलपुथल हुने भएकाले उल्टै भ्रष्टाचार बढ्छ भनेर पनि बहस भयो । केही सांसद विदेशमा लगानी खुलाउनुपर्छ भन्ने विषयमा सकारात्मक देखिए ।

केहीले तत्काल खोल्नुहुँदैन पनि भने । नेपालबाट विदेश लगानी खुलाउनका लागि सहजै दिनुहुँदैन भनेर नै बाहिर लगानी गर्नेका लागि नेपालमा लगानी गरेको कम्पनी तीन वर्षसम्म नाफा गरेको र त्यसले बाहिर लगानी गरेकोबाट प्रतिफल ल्याउँछ भन्ने केही सुनिश्चिता देखिए लगानी गर्न दिने भन्ने पनि कुरा उठेको थियो । र यो विषयमा सरकारको सबैभन्दा ठूलो चासो बाहिर पैसाको ‘साइफोनिङ’ हुन्छ भन्ने नै थियो । र अर्काेतिर बाहिर लगानी गर्न दियो भने नेपालको विश्वव्यापी रुपमा उपस्थिति हुन्छ भन्ने पनि छ ।

निजीक्षेत्रको सन्दर्भमा भन्ने हो भने ९०÷९५ प्रतिशतले बाहिर लगानी गर्न चाहन्छन् । र सरकारले बाहिर लगानी गर्न बाटो खुला गरिदेओस् भन्ने चाहन्छन् । किनभने नेपालमा केही कुरामा ज्ञान÷सीप प्राप्त भइसकेको हुन्छ । जस्तै नेपालमा वित्तीय क्षेत्रले विज्ञता हासिल गरिसकेको छ । खाद्यमा, रेस्टुरेन्ट व्यवसायमा, म्यानपावर व्यवसायमा, ‘सप्लाई चेन’लगायतमा मान्छेहरु विज्ञ भइसकेका छन् । उनीहरुमा बाहिर राम्रोसँग चलाउन सक्छु भन्ने आत्मविश्वास बढिसकेको छ । त्यसैले बाहिर लगानी गर्न पायो भने राम्रो अवसर प्रयोग गर्न पाइन्छ भन्ने विश्वास पलाएको पाइन्छ । कसैले पनि विश्वभर नै यस्तो अवसर गुमाउन चाहँदैनन् ।

तर, समस्या कहाँ देखापर्छ भने अमेरिकाको ९÷११ घटनापछि केवाईसी (बैङ्कको ग्राहकहरुको जानकारी)ले गर्दा अलिकति बढी रकम भयो कि स्रोत खोज्छ । यसमा स्रोत मात्र होइन, बैङ्किङ प्रणाली पनि खोज्छ । बैङ्किङ प्रणाली र स्रोत दुवै नखुलेको अवस्थामा बाहिर पनि प्रश्नचिह्न खडा हुने भएकाले अहिले नेपालबाट बाहिर गैरआवासीय नेपालीको हैसियतमा लगानी गएको छ । र उतै बसेका नेपालीहरु आफ्नो व्यवसाय र आफनो तलबबाट प्राप्त रकमलाई ससानो लगानी गर्दै बढाइरहेका छन् ।

नेपालले नै कानुन बनाएर लगानी गर्न दियो भने स्रोत पनि खुल्ने र बैङ्किङ प्रणालीमार्फत पनि जाने हुँदा लगानीको प्रतिफल नेपालमा ल्याउन पनि सजिलो हुन्छ । यसले नेपाललाई झनै बढी फाइदा गर्ने हो । प्रतिफल मात्र आउँदैन । सीप र प्रविधि पनि सँगसँगै भित्रन्छन् । जब विदेशमा लगानी गर्दा नाफा हुन्छ, त्यो अन्ततः नेपालमै आउने हो । ग्लोबल उपस्थिति आफ्नो भएपछि मान्छेले आफ्नै ठाउँलाई सुरक्षित ठान्छ । त्यसैले पनि जति नाफा हुन्छ, त्यो नेपालमै आउँछ । त्यसैले यसलाई सकारात्मक रुपमा लिएर विदेशमा नेपालीका लागि लगानी खुला गरिनुपर्छ । यसमा अहिलेको अर्थमन्त्री अलि बढी विज्ञ हुनुहुन्छ । राष्ट्र बैङ्क बसेर आउनुभएकाले उहाँले यस विषयमा सोच्नु झनै राम्रो हो ।

अहिले नेपालको व्यापार घाटाले गर्दा नेपालको विदेशी मुद्रा सञ्चिति घटेको छ । विदेशमा नेपालीको लगानी खुला गर्दा विदेशी मुद्रा दिन समस्या हुन्छ भन्ने पनि होला । तर, यसको पनि समाधान खोजेर अघि बढ्न सकिन्छ । पुँजी भनेको तरल हो । यो बग्छ । त्यसैले विदेशमा लगानी खुला भयो भने सीमासहित खोल्नुहुँदैन । व्यापारमा लगानी हुने हो । त्यसैले खुला छोडिनुपर्छ । नेपालबाट लगानी लैजाँदा नेपालमा कर तिरेको छ कि छैन, नाफा गरेको छ कि छैन, बरू ती प्रक्रिया भने हेर्नुपर्छ ।

अहिले गैरआवासीय नेपालीहरुले विदेशमा गरेको लगानीसँगै नेपालमा पनि लगानी बढाइरहेका छन् । कतिपयले त विदेशमा भन्दा नेपालमा बढी लगानी गर्न थालिसकेका छन् । यही उदाहरण हेरे पनि नेपाली व्यवसायीले पनि नेपालमै प्रतिफल ल्याउँछन् भन्नेमा सरकार ढुक्क हुनुपर्छ । गैरआवासीय नेपालीमा नेपालमै ‘सेटल’ हुनुपर्छ र यहीँ लगानी गर्नुपर्छ भन्ने भावना जागृत भएको छ । त्यसैले जलविद्युत्, बैङ्क, होटलमा लगानी बढिरहेको छ ।

अहिले पनि गैरआवासीय नेपालीलाई लगानी गर्न दिने भनेर सरकारले छिद्रपना छोडेको छ । त्यही आधारमा विदेशमा नेपालीको लगानी बढिरहेको छ । नेपालमा भएका व्यवसायीहरुले आफ्ना सन्तान र आफन्तलाई गैरआवासीय बनाएर लगानी गरिरहेका छन् । यसरी ‘लुपहोल’ छोड्नुभन्दा कानुन नै बनाएर लगानी गर्न दिनु राम्रो हुन्छ । अहिले विदेशमा नेपालीको ‘रेमिट्यान्स’ कम्पनी खुलेको छ । नेपालका बैङ्कका सम्पर्क कार्यालय खुलेका छन् । त्यसमा लगानी भएको छ । पैसा कहाँबाट जान्छ ? सम्पर्क कार्यालयको वार्षिक एक करोडभन्दा बढी खर्च हुन्छ ।

ठूलो आम्दानी गर्न पाउँदैन, कारोबार गर्न पाउँदैन । तर खर्च छ । पैसा कहाँबाट जान्छ ? त्यसैले सरकारले यसमा अब सोच्नुपर्ने बेला आएको छ । ‘ओपन सेक्रेट’ भएको कुरालाई सरकारले कानुनी रुपमै खुला गर्नु मुलुककै लागि फाइदा हुन्छ ।

क्यापिटल बिजनेस म्यागजिनबाट