“विभिन्न स्थानमा विद्युत् उत्पादनको काम भइरहेको छ, अबको पाँच वर्षमा जनताले मागेजति विद्युत् उपलब्ध गराउनेतर्फ सरकार लागेको छ”, मन्त्री पुनले भने ।
तुलसीपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको तीन वर्षभित्र देशैभर विद्युत् विस्तार हुने बताएका छन् ।
रिपोर्टर्स क्लब दाङ शाखाले शुक्रबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले नेपालको पानी र जनताको लगानीलाई सार्थक तुल्याउने काम भइरहेको उल्लेख गरे । “विभिन्न स्थानमा विद्युत् उत्पादनको काम भइरहेको छ, अबको पाँच वर्षमा जनताले मागेजति विद्युत् उपलब्ध गराउनेतर्फ सरकार लागेको छ”, मन्त्री पुनले भने ।
“तुलसीपुर उपमहानगरपालिकासँग विद्युत् विस्तारका लागि साझेदारी कार्यक्रम गर्नेबारे कुरा भएको छ, अब दाङका २२ वटै नाकामा विद्युत् पुर्याउन लाग्नेछौँ”, उनले भने ।
अर्को फरक प्रसङ्गमा प्रदेश ५ को राजधानी सबैलाई पायक पर्ने स्थानमा राखिनेमा जोड दिँदै मन्त्री पुनले “बाँके, बर्दियालगायत जिल्लाले पनि कुरा उठाएका छन्, राजधानीका लागि प्रदेशसभाले सबै स्थानीय तहको निकटताको हिसाबले स्थायी राजधानी तोक्ने छ”, उनले भने । रासस