सिञ्जा । जुम्लादेखि डोल्पा जोड्ने पक्की पुल वर्षौदेखि अलपत्र अवस्थामा छ । चन्दननाथ नगरपालिका–१ दानसाँघुमा विगत सात वर्षदेखि निर्माण भइरहेको पक्की पुल अलपत्र अवस्थामा छ ।
६० मिटर लम्बाइ रहेको उक्त पुल विसं २०६८ असार १५ बाट निर्माणकार्य थालनी गरिएको थियो । जुम्ला हुँदै डोल्पा जोड्ने दाँनसाघु पक्की पुलमा केन्द्रीय सरकारले करोडौँ बजेट दियो । तर, कहिले ठेकेदारको लापरवाही, कहिले प्राविधिक स्टिमेटको कमजोरी, कहिले चिसोमा सिमेन्टको काम नहुने भन्दै, सात वर्ष बितिसक्दासमेत तीन स्ल्याब मात्रै हालिएको छ भने अझै एउटा हाल्न बाँकी नै छ ।
पुल निर्माणका लागि विभिन्न चरणमा भएका सम्झौताबाट पनि यसले पूर्णता पाउन सकेन । विसं २०६८ पछि पुनः २०७१ असार मसान्तसम्म सम्पन्न गर्ने ठेकेदारसँग सम्झौता गरियो । तर, दोस्रो सम्झौता गरेको चार वर्ष बितिसक्दा पनि पुल अलपत्र अवस्थामै छ ।
विसं २०७२ मा तत्कालीन प्रमुख इञ्जिनीयर हरिप्रसाद शर्माले उक्त पुलको डिजाइन फेल भएको जनाएपछि निर्माणकार्य बीचमै अवरोध भयो। पुल निर्माण कम्पनीका एसबीए बन्धन भगवती पृथ्वी जेभी बत्तीसपुलती काठमाडौँका प्रोपाइटर तारासिंह कठायतले भने, “प्राविधिकको कमजोरीका कारण पुल निर्माण ढिला भयो भने अर्कोतर्फ आर्थिक समस्या चुलिँदै गयो र परिणामस्वरुप पुल अलपत्र भएको छ” ।
जिल्ला प्राविधिक कार्यालय जुम्लाका प्रमुख इञ्जिनीयर हिक्मतबहादुर महतले पुलको डिजाइन जिल्ला तहबाट नभएको बताए। उनले भने, डिजाइन गर्दा नै विस्तृत अध्ययन नभएको र छुट्टै कन्सल्टेन्सीले आफ्नो मनमानीअनुसार स्टिमेट गर्दा समस्या भएको महतको दाबी छ । विसं २०६८ बाट तीन स्ल्याब हालुञ्जेल झण्डै रु पाँचदेखि सात करोड बढी बजेट खर्च भइसकेको छ । तर अझै पनि पुलले पूर्णता पाउन नसक्नु दुखद् पक्ष हो उनले भने । उनका अनुसार अझै पनि यसलाई अन्तिमरुप दिन रु पाँच करोडभन्दा बढी बजेट आवश्यक पर्ने देखिन्छ ।