प्राधिकरणले गत ६ फागुनमा बोलपत्रको नतिजा सार्वजनिक गर्दै छनोट भएको कम्पनीलाई कार्यसम्पादन जमानतसहित खरिद सम्झौताका लागि आउन पत्राचार गरेको छ । छनोट भएको कम्पनी सूचना जारी भएको २८ दिनभित्र कार्यासम्पादन जमानतसहित ठेक्का सम्झौताका लागि आउनुपर्ने छ ।
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका बिद्युतीय तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्न ठेकेदार छनोट गरेको छ ।महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतको विद्युत्को तारलाई भूमिगत गर्नसबैभन्दा कम रकम बोलकबोल गर्ने भारतीय कम्पनी केईआई इन्ड्रष्ट्रिज लिमिटेड छनोट भएको हो ।
प्राधिकरणले गत ६ फागुनमा बोलपत्रको नतिजा सार्वजनिक गर्दै छनोट भएको कम्पनीलाई कार्यसम्पादन जमानतसहित खरिद सम्झौताका लागि आउन पत्राचार गरेको छ । छनोट भएको कम्पनी सूचना जारी भएको २८ दिनभित्र कार्यासम्पादन जमानतसहित ठेक्का सम्झौताका लागि आउनुपर्ने छ ।
कम्पनीसँग महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको काम गर्न २ करोड ५५ लाख ८१ अमेरिकी डलर र १ अर्ब १ करोड ७० लाख रुपैयाँमा (करबाहेक) ठेक्का सम्झौता हुने छ । कम्पनीले रत्नपार्क वितरण केन्द्रअन्तर्गतको काम २ करोड २९ लाख डलर र ८३ करोड १५ लाख रुपैयाँमा (करबाहेक) गर्ने छ ।
मध्य तथा उत्तर काठमाडौं (महाराजगन्ज)का आयोजना प्रमुख अभिषेक अधिकारीले कम्पनीले कार्यसम्पादन जमानत ल्याएपछि ठेक्का सम्झौता हुने जानकारी दिए । ‘ठेक्का सम्झौताका सम्पूर्ण प्रक्रिया पूरा गरी आगामी जेठबाट काम सुरु गर्ने लक्ष्य तय गरेका छौं’,अधिकारीले भने, ‘कम्पनीले ठेक्का कार्यान्वयनमा आएको ३० महिनाभित्र काम सक्नुपर्ने छ ।’
प्राधिकरणले यसअघि अनुमानित लागतभन्दा महँगो दर आएपछि पुरानो टेन्डर प्रक्रिया रद्द गरी नयाँ प्रक्रिया सुरु गरेको थियो । पहिलो चरणमा काठमाडौंको पूर्व तथा दक्षिणमा पर्ने बागबजार, असन, दरबारमार्गलगायत रत्नपार्क वितरण केन्द्रले समेटेका क्षेत्र र मध्य तथा उत्तरमा बालुवाटार, गंगबु, सामाखुसीलगायतका महाराजगन्ज वितरण केन्द्रअन्तर्गत पर्ने क्षेत्रमा पर्ने विद्युत् वितरण प्रणालीलाई भूमिगत तथा स्वचालित बनाउन लागिएको हो ।
ठेकेदार कम्पनीले भूमिगत वितरण प्रणालीको डिजाइन, समान आपूर्ति, जडान र सञ्चालन गर्ने छ । पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका मुख्य सडकमा ११ केभी र ४ सय भोल्टका प्रणालीलाई भूमिगत र अटोमेसन गरिने छ । तार भूमिगत गरिएसँगै दुई वितरण केन्द्रअन्तर्गतका करिब ९० हजार ग्राहकका घरमा स्मार्ट मिटरसमेत जडान गरिने छ ।
वितरण प्रणालीलाई भूमिगत गर्नुका साथै अप्टिकल फाइबर बिच्छाउने र बिजुली वितरणको तथ्याङ्क राख्न बेग्लै केन्द्र, दुई वितरण केन्द्रमा ९० हजार थान आधुनिक (स्र्माट मिटर) जडान गरिने योजना छ । दोस्रो चरणमा अन्य महानगरपालिका र उपमहानगरपालिकामा भूमिगत लाइनलाई आधुनिकीकरण र स्मार्ट मिटर जडान गर्ने योजना प्राधिकरणको छ ।
सडक खन्दा सर्वसाधारणलाई धेरै सास्ती खेप्न नपरोस् भनेर ‘होराइजेन्टन डाइरेक्सनल ड्रिलिङ’ प्रविधि अपनाइने छ । यो प्रविधि अपनाउँदा केही मिटरको दुरीमा दुई खाल्डा खनेरबीचमा भूमिगत तरिकाले नै पाइप हाल्न सकिन्छ ।