ठेक्का तोडिएपछि नयाँ प्रक्रियाबाट लट १ को काम सुरु हुने थिकेले जानकारी दिए । ठेक्का तोडेको पत्र पाएपछि सीएमसीले छलफल गर्न खोजेको उनले बताए । तनहुँले सीएमसीको नेपाल इन्भेष्टमेन्ट बैङ्कमा रहेको १ अर्ब ९७ करोड रुपैयाँ जमानत जफत गरिसकेको छ ।
काठमाडौं । तनहुँ जलविद्युत् आयोजनाको पहिलो लटको कामका लागि यही फागुनभित्र अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेन्डर) को आह्वान हुने भएको छ । ग्लोबल टेन्डरका लागि आयोजनाको परामर्शदाता ल्याह्मेयर इन्टरनेसनलले टेन्डर डकुमेन्ट बनाउन सुरु गरिसकेको छ ।
फागुन अन्तिम अर्थात् मार्च १५ भित्र ग्लोबल टेन्डरको आह्वान हुने तनहुँ हाइड्रो लिमिटेडका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिकेले बताए । मुख्य लगानीकर्ता एसियाली विकास बैङ्क (एडीबी)सँग छलफल भइरहेको उनले सुनाए ।
अघिल्लो साता तनहुँले इटालियन ठेकेदार कोअपरेटिभ मुरातोरी एन्ड सिमिस्ट्री (सीएमसी)सँग ठेक्का तोडिएको पत्र पठाएपछि ग्लोबल टेन्डरको काम सुरु गरेको हो । ठेक्का तोडिएपछि नयाँ प्रक्रियाबाट लट १ को काम सुरु हुने थिकेले जानकारी दिए । ठेक्का तोडेको पत्र पाएपछि सीएमसीले छलफल गर्न खोजेको उनले बताए । तनहुँले सीएमसीको नेपाल इन्भेष्टमेन्ट बैङ्कमा रहेको १ अर्ब ९७ करोड रुपैयाँ जमानत जफत गरिसकेको छ ।
सीएमसीसँग ठेक्का तोडिएपछि लट १ को केही काम लट २ को ठेकेदार सिनो हाइड्रो कर्पोरेसनलाई दिने भएको छ । लट १ मा पर्ने सडकलगायत अन्य अत्यावश्यक पूर्वाधारको काम सिधै सिनोलाई दिने गरी काम अघि बढेको हो ।
लट १ मा भएको ढिलाइले लट २ को काम रोकिनु हुँदैन भनेर सिनोलाई नै पहिलो लटको सडकलगायत केही पूर्वाधार निर्माणको जिम्मा दिन लागेको उनले जानकारी दिए । सिनोले लट २ को काम सुरु गर्न साइटमा परिचालन भइसकेको छ । लट १ को काम सुरु नभएपछि लट २ को काम पनि प्रभावित भई सिनोले दाबी गर्न सक्ने अवस्था आएपछि आयोजनाले उसैलाई दिन लागेको हो ।
प्रवद्र्धक तनहुँ हाइड्रोले गत माघ ४ गते सीएमसीलाई पत्राचार गरी २८ दिनभित्र आयोजनाको काम सुरु गर्न भनेको थियो । २८ दिनभित्र काम सुरु नगरेकाले सीएमसीसँगको ठेक्का तोडेको हो । सीएमसीले तनहुँसँग आयोजनाको नदी फर्काउन अस्थायी बाँध, मूल बाँध र पहुँच सडक निर्माणका लागि २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ ठेक्का सम्झौता गरेको थियो ।
सिनोले आयोजनाको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान, सञ्चालनलगायत दोस्रो प्याकेजका लागि झन्डै १७ अर्ब रुपैयाँ अर्थात् ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर र ३ अर्ब ८३ करोड १४ लाख रुपैयाँमा ठेक्का लिएको हो ।
दुवै प्याकेजको सम्पूर्ण निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य निर्धारण गरी ठेक्का सम्झौता गरिएकोमा यो कार्यतालिका पनि प्रभावित हुने भएको छ । लट ३ अन्तर्गत विद्युत् गृहदेखि भरतपुरसम्म विद्युत् प्रसारणका लागि आवश्यक २२० केभी क्षमताको प्रसारणलाइनको कामको ठेक्का भारतको केईसी इन्टरनेसनल लिमिटेडले जिम्मा पाइसकेको छ ।