भूकम्पपीडितले घर बनाउन पाएनन्

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आफ्नै जग्गा नहुनेलाई जग्गा खरीदका लागि दुई लाख रूपैयाँसमेत दिने भए पनि सो रकमले जग्गा खरीद गर्न नसकिने भन्दै लाभग्राही कार्यालयको सम्पर्कमा नआएका हुन् । 

चितवन । झण्डै चार वर्षअघिको भूकम्पका कारण जिल्लामा घर क्षति भएकामध्ये एक हजार ६५५ परिवारको आफ्नै जग्गा नहुँदा पुनःनिर्माणबाट वञ्चित भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आफ्नै जग्गा नहुनेलाई जग्गा खरीदका लागि दुई लाख रूपैयाँसमेत दिने भए पनि सो रकमले जग्गा खरीद गर्न नसकिने भन्दै लाभग्राही कार्यालयको सम्पर्कमा नआएका हुन् ।

जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका इञ्जिनीयर सुजन नेपालका अनुसार हालसम्म जग्गा खरीदका लागि कोही पनि आएका छैनन् ।

नेपालले घर क्षति भएकामध्ये एक सय जनाले पहिलो किस्तावापतको ५० हजार रूपैयाँसमेत लगेका छन् । घर निर्माणका लागि नक्सा पास गर्नुपर्ने प्रावधान बनेपछि आफ्नो जग्गा नभई वन र ऐलानी क्षेत्रमा बसेकाले घर निर्माणका लागि रकम नपाएका हुन् । प्राधिकरणले जग्गा खरीदका लागि विनियोजन गरेको रकम अपुग भएका कारण कोही पनि सम्पर्कमा नआएको नेपालले बताए ।

प्रभावित कतिपय भूकम्पले भत्काएको घर टालटुल गरी असुरक्षित रूपमा बसेका छन् भने कतिपय आफन्त र चिनजानका खाली भएका घर गोठमा बस्दै आएका छन् । पुरानो बसेको ठाउँमा धेरै जग्गा चर्चेर बसेका कारण अहिले सरकारले दिने रकमले खरीद गर्न सकिने विकटको थोरै जग्गामा जान उनीहरुले रुचि नदेखाएका हुन् ।

कार्यालयको सहयोगमा हालसम्म जिल्लामा एक हजार ८७८ घर निर्माण सम्पन्न भइसकेका छन् । घर बनाउन तीन हजार ५८८ परिवारले दोस्रो किस्ता लगेका छन् भने पहिलो किस्ता लानेको सङ्ख्या पाँच हजार ७८० परिवार छ । भूकम्पबाट जिल्लामा सात हजार ३३५ परिवारको घर पूर्णरुपमा क्षति भएको थियो ।

त्यसैगरी ५९३ परिवारको घरमा आंशिक क्षति पुगेको तथ्याङ्क छ । पछि घरमा आंशिक क्षति पुगेको तर नाम छुटेको भन्दै ६ हजार १८ जनाले गुनासो दर्ता गराएको कार्यालयले जनाएको छ । भूकम्प गएको दुई वर्षपछि कार्यालय खुलेका कारण सोही बीचको समयमा आफैँ घर बनाउने करीब एक हजार ५०० परिवारले पनि मापदण्ड नपुगेको भन्दै निकासा पाउन सकेका छैनन् । भूकम्पले घर पूर्ण क्षति भएका परिवारलाई प्राधिकरणले निर्माणका लागि तीन लाख रूपैयाँ अनुदान दिँदै आएको छ । रासस