तल्लो हेवाखोलाको बिजुली चैतदेखि

तल्लो हेवाखोलामा ४ अर्ब २८ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यस लागतलाई आधार मान्दा तल्लो हेवाखोला बनाउन प्रतिमेगावाट १९ करोड ८२ लाख २७ हजार रुपैयाँ लाग्ने देखिएको माउन्टेनले जनाएको छ ।

काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले निर्माण गरिरहेको तल्लो हेवाखोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । हालसम्म आयोजनाको ९८ प्रतिशत काम सकिएको छ । आउँदो चैतभित्र बिजुली उत्पादन हुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासनका लागि सार्वजनिक गरेको विवरणमा काम अन्तिम चरणमा पुगेको जानकारी गराएको हो । तल्लो हेवाखोलामा ४ अर्ब २८ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यस लागतलाई आधार मान्दा तल्लो हेवाखोला बनाउन प्रतिमेगावाट १९ करोड ८२ लाख २७ हजार रुपैयाँ लाग्ने देखिएको माउन्टेनले जनाएको छ ।

गत असोज २४ गतेदेखि नै बिजुली उत्पादन हुनु पर्नेमा नेपाल विद्युत् प्राधिकरणले काबेली करिडोरमा १३२ केभी प्रसारणलाइन निर्माणमा ढिलाइ गरेपछि आयोजनाको काम पछि धकेलिएको हो । आयोजना गत माघ अन्तिमसम्म सम्पन्न गर्ने लक्ष्य लिएकोमा चैतमा पुगेको विवरणपत्रमा उल्लेख छ ।

आयोजना पछि धकेलिएपछि लागत ४१ करोड २० लाख रुपैयाँ बढेको कम्पनीले जनाएको छ । सरकारले ०७० साउन ९ गते माउन्टेनलाई विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिएको हो ।

कम्पनीले फागुन २३ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दाले आवेदन नदिएको ५ करोड ६६ लाख ११ हजार रुपैयाँसमेत थप गरी १८ करोड १६ लाख ११ हजार रुपैयाँबराबरका १८ लाख १६ हजार ११० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

यसअघि कम्पनीले स्थानीयबासिन्दालाई चुक्तापुँजीको १० प्रतिशत अर्थात् १२ करोड ५० लाख रुपैयाँ बराबरका १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्दा आधा मात्र बिक्री भएको थियो । ८० प्रतिशत संस्थापक र २० प्रतिशत सर्वसाधारणको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । आईपीओ निष्कासन बन्द छिटोमा फागुन २८ र ढिलोमा चैत २२ गतेसम्म हुने छ ।

आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापुँजी बढेर १ अर्ब २५ करोड रुपैयाँ पुग्ने छ । आयोजनाबाट ८ वर्ष २ महिनापछि सर्वसाधारणको लगानी फिर्ता हुने छ ।

आर्थिक वर्ष ०७७/०७८ सम्म कम्पनीको खुदसम्पत्ति ऋणात्मक भई ९७.९८ रुपैयाँ हुने छ । आईपीओबाट सङ्कलन हुने रकम ब्रिजग्याप लोन तिर्नमा खर्च हुने भएको छ । आयोजना पाँचथरको फिदिम नगरपालिकामा पर्छ ।