बेल्ट एन्ड रोड इनिसिएटिभसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

समारोहमा बोल्दै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको बीआरआई परियोजना नेपालका लागि लाभदायी अवसर भएको र देश विकासका लागि यसबाट पछि हट्न नहुने बताएका छन् ।

काठमाडौं । चीनको महत्त्वाकाङ्क्षी बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनासम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आज मङ्गलबारबाट सुरु भएको छ ।

समारोहमा बोल्दै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको बीआरआई परियोजना नेपालका लागि लाभदायी अवसर भएको र देश विकासका लागि यसबाट पछि हट्न नहुने बताएका छन् ।

कार्यक्रममा चीन, नेपाल तथा बीआरआई परियोजनासँग सम्बद्ध विभिन्न क्षेत्रका विज्ञहरुले नेपाल र चीनको आर्थिक, भूप्राविधिक, सार्वजनिक निजी साझेदारी, यातायात विकास तथा नेपाली ठेकेदारहरुका चुनौती र अवसर विषयमा आआफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा भेटिएका इन्जिनियर गौतम रौनियारले बीआरआईको प्रयोजन र फाइदाका विषयमा यो चीनको डम्पिङ कन्सेप्ट नभए नेपालका लागि फाइदाजनक हुने बताए । उनले यसको आर्थिक पक्षमा हालसम्म कुनै योजना नभएका कारण यसबाट भविष्यमा चीनले निर्माण गरेको सडकमा यहाँका नागरिकले कर तिरेर हिँड्नु पर्ने अवस्था आउन सक्ने पनि बताए । साथै उनले नेपालबाट सांस्कृतिक चोरीको पनि खतरा रहेको बताएका छन् ।

सम्मेलन नेपाल अटोमोबाइल सङ्गठन (नासा) तथा चिनियाँ अन्तर्राष्ट्रिय यातायात अलायन्स संस्था (ब्रिटा)को संयुक्त आयोजनामा कुपन्डोलस्थित होटल हिमालयमा हुँदै छ ।