अन्तर बैंक ब्याजदर सीमा नाघ्यो, राष्ट्र बैंकले बुधबार बजारमा ५ अर्ब पठाउदै

अन्तर बैंक ब्याजदर ५.१७ प्रतिशत पुगेपछि रिपोमार्फत बजारमा पैसा पठाउन लागिएको राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा.गुणाकर भट्टले बताए ।

काठमाडौं । अन्तर बैंक ब्याजदरले सीमा नाघेपछि नेपाल राष्ट्र बैंकले बुधबार बजारमा ५ अर्ब रुपैयाँ पठाउने भएको छ । केन्द्रीय बैंकले दुई साताका लागि रिपोमार्फत बजारमा पैसा पठाउन लागेको हो ।

अन्तर बैंक ब्याजदर ५.१७ प्रतिशत पुगेपछि रिपोमार्फत बजारमा पैसा पठाउन लागिएको राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा.गुणाकर भट्टले बताए । हालै लागु भएको ब्याजदर करिडोर अन्र्तगत अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघेपछि रिपोमार्फत बजारमा पैसा पठाइने उनको भनाई छ । बैंकिङ प्रणालीमा ३० अर्ब रुपैयाँको हारहारीमा तरलता रहेको छ । दुई साताका लागि गर्न लागिएको रिपो फागुन २९ गते परिपक्व हुने छ ।

ब्याजदर करिडोरको माथिल्लो सीमा ६.५ र तल्लो सीमा ३.५ प्रतिशत छ । रिपोदर ५ प्रतिशत तोकिएको छ । अन्तर बैंक दर ५ प्रतिशत नाघेपछि केन्द्रीय बैंकले बजारमा पैसा पठाउने गरेको छ । खुला बजारमा ५ प्रतिशतभन्दा तल र ३.५ प्रतिशतभन्दा माथि ब्याजदर प्रस्ताव गर्न नपाइने व्यवस्था छ ।

केन्द्रीय बैङ्कले अन्तर बैङ्क ब्याजदर ५ प्रतिशत कटेपछि रिपो र ३.५ प्रतिशत तल झरेपछि रिभर्स रिपोमार्फत बजारबाट पैसा तान्ने गरेको छ । चालु आर्थिक वर्षको ६ महिनामा वाणिज्य बैंकहरुले ७ खर्ब १४ अर्ब ९० करोड र अन्य वित्तीय संस्थाहरुले १ खर्ब ४३ अर्ब ८३ करोड रुपैयाँ अन्तर बैंक कारोबार गरेका छन् ।