घलेम्दी जलविद्युत् आयोजना थप ६ महिना पर धकेलियो, २० करोड लागत बढ्ने

नेपाल विद्युत प्राधिकरणले १३२ केभी क्षमताको कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माणमा ढिलाइ गर्दा आयोजना तोकिएको समयभन्दा थप ६ महिना पर धकेलिने भएको हो ।

काठमाडौं । म्यादीको अन्नपूर्ण गाउँपालिका—४ मा निर्माणधीन ५ मेगावाटको घलेम्दीखोला जलविद्युत् आयोजना थप ६ महिना पर धकेलिएको छ । नेपाल विद्युत प्राधिकरणले १३२ केभी क्षमताको कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माणमा ढिलाइ गर्दा आयोजना तोकिएको समयभन्दा थप ६ महिना पर धकेलिने भएको हो ।

यसअघि फागुनभित्रै विद्युत उत्पादन गर्ने लक्ष्य रहेपनि प्रसारण लाइन निर्माण अपेक्षित रुपमा अघि बढ्न नसकेपछि आयोजना निर्माण कार्य लम्विने भएको हो । कालीगण्डकी करिडोरमा ४ किलोमिटर लामो प्रसारण लाइन निर्माण हुन बाँकी छ । दानादेखि खुर्कोटसम्म ५० किलोमिटरमध्ये ४ किलोमिटरमा ६ ओटा पोल निर्माण गर्न बाँकी छ । सडक र स्थानीयको अवरोधका कारण पनि आयोजनामा बाँकी काम अघि बढ्न सकेको छैन् ।

प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण आयोजना झन्डै ६ महिना ढिलो हुन सक्ने घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडका कार्यकारी निर्देशक एनबी अधिकारीले जानकारी दिए । उनले आयोजना निर्माणमा भइरहेको ढिलाइका कारण २० करोड रुपैयाँ लागत बढ्ने देखिएको बताए ।

८५ करोड रुपैयाँ कुल लागत अनुमान गरेको उक्त आयोजनामा थप २० करोड रुपैयाँ थप लागत लाग्ने भएको हो । हालसम्म आयोजनामा ९० करोड रुपैयाँ खर्च भइसकेको र आयोजना सम्पन्न गर्न थप १५ करोड आवश्यक पर्ने अधिकारीले बताए । सुरुवाती लागत अनुमानभन्दा अहिले ५ करोड रुपैयाँ थप खर्च भइसकेको उनले बताए । आयोजना सम्पन्न गर्न १५ देखि २० करोड रुपैयाँ लाग्ने उनको भनाइ छ ।

आयोजना निर्माणमा निर्माण सामग्री ढुवानी र आपूर्तिमा ढिलाइ, अमेरिकी डलरको भाउ बढ्नु र आयातित सामग्री महँगो भएकाले पनि आयोजनाको लागत बढेको अधिकारीको तर्क छ ।

घलेम्दीखोलाबाट उत्पादित विद्युत दाना र खुर्कोटमा बन्ने सवस्टेशनमा जोडिने छ । कालीगण्डकी करिडोर प्रसारण लाइन बनेमा ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको थापाखोला, १०० मेगावाट लगायत अन्य आधा दर्जन निर्माणधीन जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्टिय ग्रीडमा जोडिने छ ।

आयोजनामा मेगा बैंक र लुम्बिनी विकास बैङ्कको सहवित्तीयकरणमा लगानी छ । घलेम्दीले सर्वसाधारणलाई आईपीओ निष्कासन गरिसकेको छ । आयोजनाको लागत बढेपछि लगानीकर्ताले पाउने प्रतिफलमा पनि कमी आउने र समय कुर्नुपर्ने अवस्था छ ।