निर्धारित समय भन्दा १ वर्षअघि नै आयोजनाको सुरुङ खन्ने काम सकिने भएको बरालले जानकारी दिए । सन २०२० को मार्चमा सुरुङको काम सक्ने गरी कार्यतालिका तयार पारे पनि ठेकेदार चाइना ओभरसिज इञ्जिनीयरिङ ग्रुप लिमिटेड (कोवेक) ले तिब्र गतिमा काम गरिरहेको यो संभव भएको हो ।
काठमाडौं । निर्माणधिन भेरीबबई डाइभर्सन आयोजनाको सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको ९०० मिटर मात्र सुरुङ खन्न बाँकी छ । आयोजनाको कुल १२ किलोमिटर लामो सुरुङ मध्ये हालसम्म ११.१०० मिटर खन्ने काम सकिएको आयोजना निर्देशक सञ्जिब बरालले क्यापिटल नेपाललाई बताए ।
१ महिनाभित्र सुरुङको काम सकिने उनले जानकारी दिए । उनका अनुसार ढिलोमा चैतभित्र आयोजनाको सुरुङ खन्ने काम सम्पन्न हुने छ । निर्धारित समय भन्दा १ वर्षअघि नै आयोजनाको सुरुङ खन्ने काम सकिने भएको बरालले जानकारी दिए । सन २०२० को मार्चमा सुरुङको काम सक्ने गरी कार्यतालिका तयार पारे पनि ठेकेदार चाइना ओभरसिज इञ्जिनीयरिङ ग्रुप लिमिटेड (कोवेक) ले तिब्र गतिमा काम गरिरहेको यो संभव भएको हो ।
सुरुङ खन्न विशेष प्रविधियुक्त टनेल बोरिङ मेशिन (टीबीएम) ले गरिरहेको छ । टीबीएम प्रविधि प्रयोग भएको यो नेपालको पहिलो सुरुङ आयोजना हो । सुर्खेतकोे भेरीगंगा नगरपालिकास्थित चिप्लेमा १५ मिटर अग्लो बाँध बनाएर सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानी बबईमा खसालिन आयोजनाको लक्ष्य छ ।
भेरीको पानी सुर्खेत र बर्दियाको सिमानास्थित बबई नदीमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादनसँगै बाँके र बर्दियाको ५१ हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ पुर्याइने लक्ष्यका साथ सुरुङ निर्माण भइरहेको छ ।
आयोजना कार्यलयले आयोजनाको बाँध र विद्युतगृहको काम अघि बढाउन लागेको छ । सुर्खेतको चिप्लेस्थित भेरी नदीमा बाँध, विद्युत उत्पादन गर्न विद्युतगृह र सिंचाइका केही संरचना बनाउनका लागि काम अघि बढाएको हो ।
सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको सुपरिवेक्षणको काम अघि बढाउन कार्यालयले ग्लोबल टेण्डरबाट परामर्शदाता छनौट गरेको छ । परामर्शदाता छनौटका लागि कार्यालयले आशयपत्र (ईओआई) मागेको छ । परामर्शदाता नियुत्त गरेपछि आयोजनाको सिभिल संरचना बनाउन ग्लोबल टेण्डर आब्हान हुने छ ।
बाँध, विद्युतगृह र सिंचाइका थप संरचना बनाउन थप १६ अर्ब रुपैयाँ लाग्ने उनले जानकारी दिए । परामर्शदाता नियुत्तिपछि ४ महिनाभित्र ३ वटा प्याकेजको काम अघि बढाउन लागि बोलपत्र आब्हान गरिने तयारी परियोजनाको छ ।
सुरुङको काम सकिन लागे पनि सुर्खेतको चिप्लेस्थित भेरी नदीमा बाँध निर्माण, विद्युतगृह लगायत सिंचाइका लागि थप संरचना निर्माण आवश्यक भएकाले प्रक्रिया अघि बढाएको हो ।
आयोजनाको सम्पुर्ण काम आर्थिक वर्ष ०७९/०८० मा सम्पन्न हुने बरालले जानकारी दिए । सिंचाइअन्र्तगत ५१ हजार हेक्टर मध्ये ३६ हजार हेक्टरका लागि बबइ सिंचाइबाट र थप १५ हजार हेक्टरका लागि नयाँ संरचना बनाउनु पर्नेछ ।