काठमाडौं–कुलेखानी–हेटौडा  सुरुङ मार्गको काम अघि बढाउन नेपाल पुर्वाधारले बोलायो विशेष साधारणसभा

पावर चाइनासंग गरेको संयुक्त विकास सम्झौता (जेडीए), सञ्चालक समिति हालसम्म गरेका सबै निर्णयको अनुमोदन गर्ने विशेष सभाको कार्यसुचि रहेको छ । कम्पनीको आगामी योजनासहित नयाँ सञ्चालक समिति चयन र वार्षिक साधारणसभाको मिति समेत तय गरिने नेपाल पुर्वाधारले जनाएको छ ।

काठमाडौं । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले काठमाडौं–कुलेखानी–हेटौडा सुरुङ मार्गको काम अघि बढाउन तयारी सुरु गरेको छ । कम्पनीले पावर चाइना कर्पोरेशनसंगको साझेदारीमा आयोजनाको काम थाल्नअघि केही नीतिगत निर्णय लिन चैत ९ गते शनिबार विशेष साधारणसभा बोलाएको हो ।

पावर चाइनासंग गरेको संयुक्त विकास सम्झौता (जेडीए), सञ्चालक समिति हालसम्म गरेका सबै निर्णयको अनुमोदन गर्ने विशेष सभाको कार्यसुचि रहेको छ । कम्पनीको आगामी योजनासहित नयाँ सञ्चालक समिति चयन र वार्षिक साधारणसभाको मिति समेत तय गरिने नेपाल पुर्वाधारले जनाएको छ ।

यस्तै आयोजना अघि बढाउन स्थानीयबासिन्दा, प्रदेश नम्बर ३ को सरकारसंग गरेको सम्झौताको पनि साधारणसभाबाट पारित गर्ने भएको छ । विशेष साधारणसभापछि हालका अध्यक्ष भवन भट्टले नेपाल पुर्वाधारको नेतृत्व लिने प्रस्ताव सभामा पेश हुने भएको छ ।
नेपाल पूर्वाधार र पावर चाइनाबीच गत साउन ९ गते सडक आयोजनामा लगानी, विकास, वित्त व्यवस्थापन, निर्माण तथा संचालन व्यवस्थापन गर्न जेडीए भएको थियो ।

पावर चाइनाले आयोजनामा ९५ प्रतिशतसम्म लगानी गर्ने सहमती गरेको छ । पावर चाइनाले ७५ः२५ अनुपातमा ऋण लगानीका लागि अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुबाट लगानीको व्यवस्थापन गर्ने जिम्मा समेत लिएको छ । नेपाल पूर्वाधारको विस्तृत प्राविधिक योजना पुनरावलोकन तथा विगत ३० महिनादेखि पटक पटक आयोजना क्षेत्रको स्थलगत भ्रमण गरेर पावर चाइनाले १३ जनवरी २०१८ मा प्राविधिक प्रस्ताव समेत पेश गरी सकेको छ । पुनरावलोकन पश्चात यस आयोजनामा सडकको कूल लम्वाई मध्ये ४४ सुरुङ्ग तथा पुलले ओगट्ने छ ।

नेपाल पूर्वाधारले पावर चाइनाबीच भएको सम्झौतापत्र भौतिक योजना तथा यातायात मन्त्रालय र प्रदेश नम्बर ३ को सरकार समक्ष पेश गरी लगानीको खाका समेत तयार गरिसकेको छ । आयोजना बनाउन ३५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । लगानी जुटाउन नसक्दा आयोजनाको काम अघि बढ्न सकेको छैन् । सरकारले पटक पटक म्याद थप गरिसकेको छ ।