अधिकांश सहकारीले वार्षिक साधारणसभा नगरेपछि महानगरपालिकाले यस्तो चेतावनी दिएको हो । प्रत्येक आर्थिक वर्ष सकिएको ६ महिनाभित्र वार्षिक साधारणसभा गर्नुपर्ने र सोको विवरण महानगरपालिकालाई बुझाउनु पर्ने व्यवस्था छ ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले वार्षिक साधारणसभा नगर्नेल सहकारीलाई कार्वाही गर्ने भएको छ । अधिकांश सहकारीले वार्षिक साधारणसभा नगरेपछि महानगरपालिकाले यस्तो चेतावनी दिएको हो । प्रत्येक आर्थिक वर्ष सकिएको ६ महिनाभित्र वार्षिक साधारणसभा गर्नुपर्ने र सोको विवरण महानगरपालिकालाई बुझाउनु पर्ने व्यवस्था छ ।
महानगरले आफ्नो कार्यक्षेत्रभित्र रहेका सहकारीलाई १५ दिनभित्र वार्षिक साधारणसभा गरेको प्रतिवेदन बुझाउन भनेको छ । साधारणसभा नगर्ने र प्रतिवेदन बुझाउन अटेर गर्ने सहकारीलाई कार्वाही गर्ने महानगरपालिकाले चेतावनी दिएको छ ।
महानगरले गत साउनदेखि आफ्नो कार्यक्षेत्रभित्र सञ्चालनमा रहेका सहकारी संस्थालाई नियमन सुरु गरेको हो । यसअघि सहकारी विभागबाट नियमन हुँदै आएको थियो ।
सहकारी संस्थाले यसअघि डिभिजन सहकारी कार्यालयमा बुझाउँदै आएको वित्तीयलगायत सम्पूर्ण विवरण अब महानगरपालिकामा बुझाउनु पर्ने सहकारी ऐन र महानगरपालिका सहकारी ऐनमा उल्लेख छ ।
यस्तै, सभाबाट पारित संस्थाको वार्षिक बजेट, कार्यक्रम, योजना, नीति र लेखापरीक्षण प्रतिवेदन महानगरमा पेश गर्नुपर्ने छ । संस्थाको कारोबार चौमासिक प्रतिवेदन मंसिर १५, चैत १५ र साउन १५ भित्र र वार्षिक प्रतिवेदन आर्थिक वर्ष सकिएको ३ महिनाभित्र प्रतिवेदन पेश गर्नुपर्ने महानगरपालिकाले जनाएको छ ।
सहकारी संस्थाको दर्ता, अनुमति खारेज र विघटन लगायतका संस्थापकीय कार्य स्थानीय तहको अधिकार क्षेत्रभित्र परेका महानगरपालिकाले स्पष्ट पारेको छ ।