जिल्लाको दुर्गम क्षेत्र मानिने महाभारत शृङ्खला डाँडापारि र कोशीपारि रहेका गाउँपालिका आर्थिक कारोबार गर्न बनेपा र धुलिखेल आउँदा एक साताको समय खर्चनुपर्ने बाध्यता छ ।
काभ्रेपलाञ्चोकको अधिकांश गाउँपालिकामा बैङ्किङ पहुँच नहुँदा विभिन्न योजनाको सम्झौता गर्न कठिनाइ भएको छ । जिल्लाको दुर्गम क्षेत्र मानिने महाभारत शृङ्खला डाँडापारि र कोशीपारि रहेका गाउँपालिका आर्थिक कारोबार गर्न बनेपा र धुलिखेल आउँदा एक साताको समय खर्चनुपर्ने बाध्यता छ ।
जिल्लामा रहेका सात गाउँपालिकामध्ये महाभारत, खानीखोला, तेमाल, चौरीदेउराली र रोशी गाउँपालिकामा कुनै बैङ्क छैनन् । भुम्लु गाउँपालिकाको दोलालघाटमा सिन्धु विकास बैङ्क र बेथानचोक गाउँपालिकाको ढुङ्खर्कमा ग्लोबल आइएमई बैङ्क भएपनि पर्याप्त सुविधा नभएकाले धुलिखेल र बनेपा धाउनुपरेको छ ।
चौँरी देउराली गाउँपालिकाका अध्यक्ष दीनानाथ गौतमले योजना सम्झौताका काम गर्न समस्या भएको उल्लेख गर्दै बैङ्कका कारण भएका कर्मचारी पनि कार्यालयमा बस्न नपाउने अवस्था भएको बताए । उनले भने, ‘अहिले पैसा राख्न र झिक्नका लागि चार दिन लाग्ने गरेको छ ।’
भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले दोलालघाटमा बैङ्क भए पनि प्रभावकारी नभएको जानकारी दिँदै बङ्गलादेश बैङ्कका लागि कार्यालयका तर्फबाट कोठा छुट्याए पनि अझै बैङ्क गाउँ नपुगेको बए । उनले भने, ‘गाउँपालिकाका एक सय नौओटा आयोजना छन्, त्यसको सम्झौता गर्न धुलिखेल धाउनुपर्ने अवस्था छ ।’
तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिंह तामाङले बैङ्क नभएका कारण ठूलो सास्ती खेप्नुपरेकाले सानातिना आर्थिक कारोबारका लागि बनेपा र धुलिखेल जानुपर्ने बाध्यता रहेको बताए । उनले भने, ‘हाम्रो २७ करोड बजेट छ, बोधिचित्तको समेत कारोबार हुँदा ५० करोड रुपैयाँको बजेट हुन्छ, तर आर्थिक सुरक्षा भएन ।’