अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि साढे पाँच करोड जुट्यो

चितवन। धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा बनाउन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि पाँच करोड रकम संकलन भइसकेको छ।

फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले चितवनमा पत्रकार सम्मेलन गरी अहिलेसम्म साढे ५ करोडभन्दा बढी रकम संकलन भइसकेको जानकारी गराए।

कट्टेलका अनुसार विभिन्न स्थानमा सञ्चालन गरिएको अभियान र व्यक्तिबाट अहिलेसम्म पाँच करोड ५० लाखभन्दा बढी रुपैँया संकलन भइसकेको छ।

यो रकम संकलनको सुरूवात भएको भन्दै उनले आफूहरूले सुरुवाती चरणमा अपेक्षा गरे जति रकम संकलन भएको दाबी गरे।

‘परियोजना के हो ? कस्तो हो ? भनेर बुझाउन बाँकी नै छ त्यसपछि आर्थिक संकलनले तिव्रता पाउँछ,’ उनले भने।

जनस्तरबाट निर्माण गर्ने लक्ष्य राखिएको रंगशाला निर्माण सम्पन्न गर्न करिब तीन अर्ब लाग्ने अनुमान छ। ‘अझै दुई अर्ब ९४ करोड ५० लाख रुपैँया अपुग छ, जुन रकम विभिन्न संघ संस्था, व्यक्ति तथा सहयोगी दाताहरुबाटै जुटाउनेछौ,’ फाउण्डेसनका अध्यक्ष धुर्मुसले भने।

फाउण्डेसनका अध्यक्ष कट्टेलले राष्ट्रकै गौरव बढाउने काममा दिल खोलेर सहयोग गर्न सबै नेपालीलाई आग्रह गरे।

विकास सरकारले नै गर्ने हो, तर योजना बनाउँदैन : सीताराम कट्टेल ‘धुर्मुस’सँग विकास वार्ता

रकम संकलनका लागि केही समयअघि मलेसिया लगायत विभिन्न स्थानमा कार्यक्रम सम्पन्न गरिसकेको भन्दै अध्यक्ष कट्टेलले अब चाँडै विभिन्न देशमा जाने तयारी भइरहेको पनि जानकारी दिए।

उनले सहयोग आएको रकम पारदर्शीरूपमा परिचालन हुने भएकाले अनियमितता नहुने पनि प्रष्ट पारे।

शिलान्यास भएको दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेका रंगशालाको डीपीआरका काम भइरहेको उनको भनाइ छ। विभिन्न स्थानबाट स्वतस्फूर्त रूपमा सहयोग आउने क्रम जारी रहेकाले निर्धारित समयमा निर्माण सम्पन्न हुनेमा विश्वस्त रहेको सुनाए।

यसअघि पनि विभिन्न आयोजना सम्पन्न गरिसकेकाले त्यो अनुभव रंगशाला निर्माणका लागि सहयोगी बन्ने उनको भनाइ छ।

क्रिकेट रंगशाला नामाकरण गरिए पनि फुटबल, भलिबल लगायत विभिन्न खेलका सुविधासम्पन्न खेल मैदान पनि बन्ने छ।

भरतपुर महानगरपालिका १५ मा निर्माण हुने सो रंगशाला निर्माणपश्चात फाउण्डेसनले महानगरलाई हस्तान्तरण गर्नेछ। रंगशाला सञ्चालबाट आउने रकम सामाजीक कार्यमा खर्च गरिने महानगर प्रमुख रेणु दाहालले बताएकी छिन्।