अन्तर बैङ्क ब्याजदर बढेपछि राष्ट्र बैङ्कले १० अर्ब बजारमा पठाउँदै

काठमाडौं । अन्तर बैङ्क ब्याजदरले सीमा नाघेपछि नेपाल राष्ट्र बैङ्कले बिहीबार बजारमा १० अर्ब रुपैयाँ पठाउदै छ । केन्द्रीय बैङ्कले एक साताको रिपोमार्फत बजारमा रकम पठाउन लागेको हो । रिपोको अवधि फागुन ३० गतेसम्म छ ।

अन्तर बैङ्क ब्याजदर बढेर औसत ५.१७ प्रतिशत पुगेपछि रिपोमार्फत बजारमा पैसा पठाउन लागिएको राष्ट्र बैङ्कले जनाएको छ । हालै लागू भएको ब्याजदर करिडोर अन्तर्गत अन्तर बैङ्क ब्याजदर ५ प्रतिशत नाघेपछि रिपोमार्फत बजारमा पैसा पठाइने गरेको छ । बैङ्किङ प्रणालीमा ३२ अर्ब रुपैयाँको हारहारीमा तरलता छ ।

ब्याजदर करिडोरको माथिल्लो सीमा ६.५ र तल्लो सीमा ३.५ प्रतिशत छ । रिपोदर ५ प्रतिशत तोकिएको छ । अन्तर बैङ्क दर ५ प्रतिशत नाघेपछि केन्द्रीय बैङ्कले बजारमा पैसा पठाउने गरेको छ । खुला बजारमा ५ प्रतिशतभन्दा तल र ३.५ प्रतिशतभन्दा माथि ब्याजदर प्रस्ताव गर्न नपाइने व्यवस्था छ ।

केन्द्रीय बैङ्कले अन्तर बैङ्क ब्याजदर ५ प्रतिशत कटेपछि रिपो र ३.५ प्रतिशत तल झरेपछि रिभर्स रिपोमार्फत बजारबाट पैसा तान्ने गरेको छ । चालू आर्थिक वर्षको ६ महिनामा वाणिज्य बैङ्कहरुले ७ खर्ब १४ अर्ब ९० करोड र अन्य वित्तीय संस्थाहरुले १ खर्ब ४३ अर्ब ८३ करोड रुपैयाँ अन्तर बैङ्क कारोबार गरेका छन् ।