यस वर्ष साढे २ अर्ब नाफा गर्ने एनएमबी बैङ्कको प्रक्षेपण, सेयरधनीले पाउने लाभांश कति ?

बैङ्कले ऋणपत्र (डिभेञ्चर) निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा यस वर्ष नाफा ६१ करोड १३ लाख रुपैयाँ थप हुने अनुमान गरेको हो । आगामी आर्थिक वर्षमा ३ अर्ब १३ करोड ४१ लाख र ३ वर्षमा अर्थात आर्थिक वर्ष ०७७/०७८ मा ४ अर्ब २८ करोड २३ लाख रुपैयाँ खुदनाफा हुने प्रक्षेपण बैङ्कको वित्तीय विवरणमा गरिएको छ ।

काठमाडौं । एनएमबी बैङ्कले चालू आर्थिक वर्षमा खुदनाफा ३४ प्रतिशत बढ्ने प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षमा नाफा बढेर २ अर्ब ४८ करोड ५० लाख रुपैयाँ हुने अनुमान बैङ्कले गरेको छ । गत आर्थिक वर्षमा बैङ्कले १ अर्ब ८५ करोड ३७ लाख रुपैयाँ खुदनाफा गरेको थियो ।

बैङ्कले ऋणपत्र (डिभेञ्चर) निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा यस वर्ष नाफा ६१ करोड १३ लाख रुपैयाँ थप हुने अनुमान गरेको हो । आगामी आर्थिक वर्षमा ३ अर्ब १३ करोड ४१ लाख र ३ वर्षमा अर्थात आर्थिक वर्ष ०७७/०७८ मा ४ अर्ब २८ करोड २३ लाख रुपैयाँ खुदनाफा हुने प्रक्षेपण बैङ्कको वित्तीय विवरणमा गरिएको छ ।

चालू आर्थिक वर्षमा बैङ्कको प्रतिसेयर आम्दानी (ईपीएस) २५ रुपैयाँ ८४ पैसा, आगामी वर्ष २८ रुपैयाँ ३४ पैसा र ३ वर्षमा बढेर ३३ रुपैयाँ ५७ पैसासम्म पुग्ने बैङ्कको प्रक्षेपण छ । यस्तै खुदसम्पत्ति (नेटवर्थ) चालू आर्थिक वर्षमा १७९, आगामी वर्ष १७८ र ३ वर्षमा १८१ रुपैयाँ पुग्ने अनुमान बैङ्कको छ ।

बैङ्कले यस वर्ष ४ अर्ब ५८ करोड २० लाख रुपैयाँ खुदब्याज आम्दानी गर्ने अनुमान छ । आगामी वर्ष बढेर ५ अर्ब ६० करोड ६१ लाख र ३ वर्षमा ७ अर्ब ३० करोड ६४ लाख रुपैयाँ खुदब्याज आम्दानी गर्ने प्रक्षेपण बैङ्कको छ ।

लगानीका लागि स्रोत जुटाउन एनएमबी बैङ्कले फागुन ३० गते ऋणपत्र (डिभेञ्चर) निष्कासन गर्ने भएको छ । बैङ्कले प्रतिकित्ता १ हजार रुपैयाँ दरका १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो ।

निष्कासन बन्द छिटो चैत ४ गते र ढिलोमा चैत १४ गते हुने सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । वार्षिक १० प्रतिशत ब्याज निश्चित भएको ऋणपत्रको अवधि १० वर्षको छ । ऋणपत्र आगामी आर्थिक ०८५ मा परिपक्व हुने छ । न्यूनतम २५ देखि अधिकतम १२ लाख कित्तासम्म आवेदन दिन पाइने छ ।

पुँजीकोष बढाउन निष्कासन गर्न लागेको ऋणपत्रको उपयोग कर्जा लगानीमा २२ करोड, विपन्न कर्जा लगानीमा २० करोड, तरलता व्यवस्थापनमा ४० करोड र सरकारी ऋणपत्रमा लगानी ३० करोड रुपैयाँ हुने बैङ्कले जनाएको छ ।

लगानीका लागि स्रोत जुटाउन एनएमबीले विदेशका विभिन्न बैङ्कबाट साढे ३ अर्ब रुपैयाँ ऋण लिएको छ । यस्तै थप १ अर्ब ५० करोड रुपैयाँ ऋण लिने तयारी बैङ्कको छ ।