प्राधिकरणले नुवाकोटमा सोलार आयोजनाबाट १३ मेगावाट बिजुली उत्पादन गर्ने, सरकारले लाइसेन्स दिँदै

सोलार आयोजना निर्माण तथा सञ्चालनका लागि प्राधिकरणले विद्युत् विकास विभागमा आवेदन दिएको छ । आउँदो ३५ दिनभित्र उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिने तयारी विद्युत् विकास विभागको छ । सौर्य विद्युत् आयोजनाअन्तर्गत ब्लक दुई स्टाफ क्वार्टर र फर–वे क्षेत्रमा निर्माण हुने भएको छ ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा दुई सोलार आयोजनाबाट १३.४ मेगावाट बिजुली उत्पादन गर्ने भएको छ । प्राधिकरणले नुवाकोटको विदुर नगरपालिकामा ८.३ र ५.१ मेगावाट क्षमताको दुई ओटा सोलार आयोजना निर्माण सुरु गर्न लागेको हो ।

सोलार आयोजना निर्माण तथा सञ्चालनका लागि प्राधिकरणले विद्युत् विकास विभागमा आवेदन दिएको छ । आउँदो ३५ दिनभित्र उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिने तयारी विद्युत् विकास विभागको छ । सौर्य विद्युत् आयोजनाअन्तर्गत ब्लक दुई स्टाफ क्वार्टर र फर–वे क्षेत्रमा निर्माण हुने भएको छ । यो आयोजनाबाट १ करोड ८८ लाख ६० हजार युनिट र ब्लक १ अन्र्तगत केराघारी र रातमाटे क्षेत्र निर्माण हुने आयोजनाबाट १ करोड युनिट बिजुली उत्पादन गर्ने प्राधिकरणले जनाएको छ । सोलार आयोजनाबाट उत्पादन हुने बिजुली ३३ केभी प्रसारणलाइनबाट देवीघाटमा रहेको सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा जोडिने भएको छ ।

विश्व बैङ्कको ऋण सहयोगमा विद्युत् प्राधिकरणले नुवाकोटमै अर्को २५ मेगावाट क्षमताको सोलार प्लान्टको गत बैशाखदेखि निर्माण सुरु गरेको छ । नुवाकोटको देवीघाट जलविद्युत् केन्द्र परिसरमा स्थापना भइरहेको नेपालकै सबैभन्दा ठूलो सोलार प्लान्ट हो । काम एक वर्षभित्र सकेर विद्युत् राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्य राखिएको छ । सोलार प्यानल राखी त्यसमार्फत दिउँसो उत्पादित विद्युत् सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।

प्लान्ट स्थापनाका लागि चिनियाँ कम्पनी राइजन इनर्जीसँग ४ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ । प्लान्टबाट वार्षिक ३ करोड ३० लाख युनिट सुनिश्चित ऊर्जा आपूर्ति गर्नुपर्ने छ ।

राष्ट्रिय प्रणालीमा अधिकांश विद्युत् प्राधिकरणले आगामी पाँच वर्षभित्र ५०० मेगावाटसम्म सोलार प्लान्ट राख्ने लक्ष्य राखेको छ ।