लक्ष्मी बैंकसँग मर्जर गर्ने एभरेष्ट बैंकको योजना विफल

अध्यक्ष बीके श्रेष्ठले लक्ष्मी बैंकसँग मर्जर वार्ता सफल हुन नसकेको बताए । “मर्जरका निम्ति हाम्रो ढोका खुला छ”, उनले भने ।

काठमाडौ । भारतको पञ्जाब बैंकसँगको संयुक्त लगानीमा स्थापना भएको एभरेष्ट बैंकले गाभिने (मर्जर) मा जानेनजाने भन्ने निर्णय गर्न सकेको छैन ।

नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकहरुलाई पुँजी वृद्धि वा बैंकहरु एकापसमा गाभिएर सञ्चालन गर्न निर्देशन दिएपछि लामो समयदेखि साझेदारको खोजिमा रहेको उक्त बैंकले अहिलेसम्म निर्णय गर्न नसकेको हो ।

बैंकले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा त्यसका अध्यक्ष बीके श्रेष्ठले लक्ष्मी बैंक मर्जर वार्ता सफल हुन नसकेको बताए । “मर्जरका निम्ति हाम्रो ढोका खुला छ”, उनले भने । केन्द्रीय बैंकको निर्देशनअनुसार जलविद्युत्, कृषि र पर्यटन क्षेत्रमा लगानी गरिएको उनले स्पष्ट पारे ।

केन्द्रीय बैंकले मर्जरमा जान दवाव दिइरहेको छ । वाणिज्य बैंकको संख्या बढी रहेको बताउदै मर्जरको बाटो अबलम्बन गर्न केन्द्रीय बैंकले सुझाएको छ । अध्यक्ष श्रेष्ठले एभरेष्टमा रहेको २ अर्ब रुपैयाँ बराबरको संस्थापक सेयर बिक्री गरिसकेका छन् ।