काठमाडौं । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी सौर्य एयरलाइन्सले आजदेखि पुनः उडान शुरु गरेको छ। विमानस्थलको बक्यौता नबुझाएपछि झण्डै तीन महीना ग्राउण्डेड भएको उक्त एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सेवा शुल्क वापत ५० लाख भुक्तानी गरेपछि पुनः उडान अनुमति पाएको हो।
सौर्यले काठमाडौँबाट पहिलो उडान भैरहवा भरेको थियो। विराटनगरलगायत अन्य गन्तब्यमा पनि उडान भरेको विमानस्थलले जनाएको छ। एयरलाइन्सले विमानस्थललाई गत मङ्गलबार पहिलो चरणको किस्तावापत रु ५० लाख तिरेको थियो ।
बाँकी रकम एक महीनाभित्र तिरिसक्ने कम्पनीका प्रवक्ता मुकेश खनालले जानकारी दिए। विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार सो कम्पनीले विमानस्थललाई जरिवानासहित चार करोड बक्यौता रकम तिर्नुपर्नेछ। दुई महीनाभित्र सबै बक्यौता तिर्ने एयरलाइन्सले बचन दिएको उनले जानकारी दिए।
नयाँ व्यवस्थापनका साथ उडान सुरु गरेको सौर्यले शनिबारदेखि नियमित तीन स्थानमा उडान सुरु गर्नेछ। यो कम्पनीसँग हाल दुई बम्बार्डिएर जहाज छन्। सौर्यले अबको ६ महीनाभित्र तीन एटिआर जहाज भित्र्याउने तयारी गरेको बजार व्यवस्थापक प्रमुख खनालले जानकारी दिए।
हाल विराटनगर, भैरहवा, भद्रपुर, नेपालगञ्ज तथा धनगढीका लागि उडान भर्दै आएको सौर्यले नयाँ जहाजबाट पोखरा, सिमरा, भरतपुर, जनकपुर तथा राजविराजका लागि उडान भर्ने जनाएको छ।