प्रतिबन्धित ठूला दरका भारु चलाउने विषयमा पहल भइरहेको छः अर्थमन्त्री खतिवडा

भारतमा भएको नोटबन्दीपछि ५ सयको नोट नयाँ स्वरुपमा तथा २ सय र २ हजार दरका भने नयाँ नोट प्रचलनमा ल्याएको हो । यसअघि प्रचलनमा रहेको एक हजार दरको नोट नोटबन्दीपछि प्रयोगमा ल्याइएको छैन ।

काठमाडौं । ठूला दरका भारतीय रुपैयाँ (भारु) २ सय, ५ सय र २ हजार दरका नोट प्रचलनमा ल्याउन पहल भइरहेको अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन् । क्यापिटल बिजनेस म्यागजिनसँग कुरा गर्दै उनले नेपाल भारत सम्बन्ध र पयर्टकहरुको आगामनका कारण पनि ठूला दरका भारु नोट प्रचलनमा ल्याउनु तत्कालका लागि आवश्यक रहेको बताए ।

भारतमा भएको नोटबन्दीपछि ५ सयको नोट नयाँ स्वरुपमा तथा २ सय र २ हजार दरका भने नयाँ नोट प्रचलनमा ल्याएको हो । यसअघि प्रचलनमा रहेको एक हजार दरको नोट नोटबन्दीपछि प्रयोगमा ल्याइएको छैन । नेपालले पनि २ सय, ५ सय र २ हजार दरका नोट सञ्चालनमा रोक लगाएको थियो । केन्द्रीय बैङ्कले सार्वजनिक सूचना जारी गरी प्रतिप्रबन्धित नोट प्रयोग गरेको पाइएमा कारबाही हुने उल्लेख गरेको थियो ।

नोटबन्दीअघि भारतबाट नेपाल आउने र नेपालबाट भारत जाने व्यक्तिले बढीमा २५ हजार भारु साथमा लिएर हिँड्न पाउने व्यवस्था थियो । सरकारले यही अनुरुपको भारु सुविधा आगामी दिनमा पनि आवश्यक रहेको भन्दै सरोकारवाला पक्षसँग छलफल र पत्राचार भइरहेको जनाएको छ । २०१६ डिसेम्बरमा गरिएको नोटबन्दीपछि नेपालको बैङ्किङ प्रणालीमै रहेका ५ करोड भारुभन्दा बढी रकम राष्ट्र बैङ्कमा छ ।

प्रतिबन्धित भारु चलाउने विषयमा अर्थमन्त्री खतिवडा यसो भन्छन् :
जुन बेला भारतमा नोटबन्दी भयो, त्यो बेला नेपालमा भएका भारु साट्ने पर्याप्त पहल नभएकै हो । त्यस बेला सङ्क्रमणकालीन अवस्था थियो, गर्नुपर्ने निकायले सक्रियतापूर्वक काम गरे पनि भारु नसाटिएका हुन् ।

एउटा सार्वभौम मुलुकको सार्वभौम मुद्रा, त्यसमा पनि भुक्तानी दिन्छु भनेको मुद्रा, सटही नहुनु नेपाल र भारतका लागि पनि राम्रो होइन । त्यस विषयलाई हामीले छुट्टै मुद्दाका रुपमा राखेका छौं । त्यसको माग दाबी गरिरहन्छौं । कम्तीमा बैङ्किङ प्रणालीमा थुप्रिन आएका मुद्रा भारतले साट्नुपर्छ । यो हाम्रो दाबी हो र रहिरहने छ ।

नोटबन्दी पछाडि भारतमा दुई सय, पाँच सय र दुई हजारका नोट निस्किए । त्यसभन्दा अघि २५ हजारसम्म सटहीका लागि ल्याउने व्यवस्था स्वतः खारेज भयो र नेपालले पाएको सुविधा पनि खारेज भयो ।

तर, पनि नेपालीहरुले अनौपचारिक रुपमा भारु सटहीका लागि ल्याउने लैजाने गरिरहेकै छन् । तर, यसरी त भएन । भोलि फेरि छिमेकी मुलुकले यो मुद्रा चल्दैन भन्दियो भने त अप्ठ्यारो हुन्छ । त्यसो भएको हुनाले यसलाई वैधानिक बाटोबाट जानका लागि राष्ट्र बैङ्कले पहिला सुसूचित गर्यो । प्रचलित कानुनले एक सय भारुभन्दा बढी चलाउन पाइँदैन भनेर सबैमा जानकारी गरायो । तर, व्यावहारिक कठिनाइ छ । त्यही व्यावहारिक कठिनाइ हल होस् भनेर भारु चलाउने विषयमा भारत सरकारलाई लेखेर पठाएका हौं ।

निश्चित रकम सटहीका लागि भारत सरकारसँग कुरा भइरहको छ । पर्यटकहरुले बोकेर ल्याउने, काम गरेको मान्छेले बोकेर ल्याउने र साट्ने सुविधा पाउनुपर्छ भनेर हामी लागेका छौं । हामीले यो कुरा द्विपक्षीय वार्तामा पनि उठाएका छौं ।

सीमावर्ती क्षेत्रको व्यवहार पनि हेर्नुपर्छ । कोही मान्छेले झुक्किएर २ सय, ५ सय र २ हजार दरका नोट बोकेर आयो भने कानुनी कारबाहीमा पर्ने कुरा त्यति राम्रो भएन ।

बैङ्किङ प्रणालीमा आएका र दुई पक्षीय सम्झौता भएको रकम पनि नसाटिएकाले शङ्का गर्ने ठाउँ छ । अहिले भारतबाट ठूलो सङ्ख्यामा पर्यटक ल्याउने सोच बनाइरहेका छौं । सबै ठाउँमा बैङ्क पुगेका हुँदैनन् । यस्तो व्यावहारिक कठिनाइलाई हेरेर पनि ठूला भारु चलाउनु पर्ने हुन्छ ।