ब्याजदर घटाउन बैङ्कर एसोसियसन सहमत, छलफल गरेर एक साताभित्र निर्णय लिइने

एसोसियसनका अध्यक्ष ढुङानाले सबै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को संयुक्त बैठक गरेर यस विषयमा साझा धारणा बनाउने भन्दै एक साताको समय मागको उनले जानकारी दिइन ।

काठमाडौं । उद्योग व्यवसायीलाई लिदै आएको चर्को ब्याजदर घटाउन बैंङ्कर सहमत भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स एसोसियसनका प्रतिनिधिबीच सोमबार भएको छलफलमा एक सातापछि ब्याजदर घटाउनका लागि पहल थाल्ने सहमति भएको हो ।

छलफलमा एसोसियसनका अध्यक्ष ज्ञानेन्द्र ढुङानाले कर्जाको ब्याजदर घटाउन सकरात्मक भएको बताउदै बैठक बोलाएर यस विषयमा निर्णय लिने जानकारी दिएको महासंघकी अध्यक्ष भवानी राणाले बताइन । एसोसियसनका अध्यक्ष ढुङानाले सबै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को संयुक्त बैठक गरेर यस विषयमा साझा धारणा बनाउने भन्दै एक साताको समय मागको उनले जानकारी दिइन ।

एसोसियसनले सीईओहरुसंग छलफलपछि महासंघसंग पुनः बैठक बसेर ब्याजदर घटाउन छलफल गर्ने सहमति भएको हो ।
एक सातापछि बैंङ्कको ब्याजदरमा कमी आउने विश्वास महासंघले लिएको राणाले बताइन ।बैंङ्कर र उद्योगीबीच बढेको दरारको अन्त्य भएको उनले बताइन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले ब्याजदरमा सहमति जुटाउन बैंङ्कर र महासंघलाई सार्वजनिक रुपमा अनुरोध गरेका थिए । सहमति नभए सरकारले हस्तक्षेप गर्ने चेतावनी दिएपछि बैंङ्कर संघ र महासंघका प्रतिनिधिले ब्याजदर घटाउन पहल थालेका हुन । सहमति नजुटाए सरकारले हस्तक्षेप गर्ने चेतावनी अर्थमन्त्री खतिवडाले दिएका थिए ।

मोरङ, रुपन्देही र सुर्खेतका केही उद्योगी व्यवसायीले बैङ्कले चर्को ब्याज लिएको भन्दै आन्दोलनमा उत्रिएपछि महासंंघले पनि उक्त आन्दोलनलाई साथ दिएको थियो । बैंकहरुको आधारदर घटेर एक अंकमा आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आधारदर ११ प्रतिशतबाट ९.७ प्रतिशतमा झरेको छ ।