यसअघि गत मङ्सिर र माघमा गरी २ पटक आशयपत्र माग गरेर पनि परामर्शदाता नियुक्त गर्न नसकेपछि पुनः सोमबार तेस्रो पटक आशयपत्र मागिएको हो । परामर्शदाताले प्रक्रियाअनुसार आवश्यक डकुमेन्ट पेस नगरेकाले दोस्रो पटक रद्द गरेर तेस्रो पटकका लागि पुनः माग गरिएको आयोजना निर्देशक सञ्जीव बरालले बताए ।
काठमाडौं । निर्माणाधीन भेरीबबई डाइभर्सन आयोजनाले विद्युत् उत्पादन संरचना निर्माणको सुपरिवेक्षणका लागि तेस्रो पटक आशयपत्र (ईओआई) माग गरेकाे छ । यसअघि गत मङ्सिर र माघमा गरी २ पटक आशयपत्र माग गरेर पनि परामर्शदाता नियुक्त गर्न नसकेपछि पुनः सोमबार तेस्रो पटक आशयपत्र मागेको हो ।
परामर्शदाताले प्रक्रियाअनुसार आवश्यक डकुमेन्ट पेस नगरेकाले दोस्रो पटक रद्द गरेर तेस्रो पटकका लागि पुनः माग गरिएको आयोजना निर्देशक सञ्जीव बरालले बताए ।आयोजना निर्देशक बरालका अनुसार आउँदो चैत १२ गतेभित्र आशयपत्रका लागि प्रस्ताव पेस गर्नुपर्ने छ ।
आयोजनाले भेरी नदीमा निर्माण हुने बाँध, सर्जसाफट, पेनस्टक पाइप र विद्युत् गृह निर्माणको सुपरिवेक्षण, गुणस्तर नियन्त्रण र डिजाइनको पुनरवलोकनका लागि आशयपत्र माग गरेको हो ।
आयोजनाका अनुसार आशयपत्रका आधारमा परामर्शदाता छनौट भएपछि मात्र सिभिल निर्माणका लागि बोलपत्र आह्वान हुने छ । आशयपत्रबाट छनौट भएकाले मात्रै सुपरिवेक्षणका लागि बोलपत्रमा भाग लिन पाउने छन् ।आयोजनाको कुल १२ किलोमिटर लामो सुरुङमध्ये अब ९०० मिटर मात्र सुरुङ खन्न बाँकी रहेको र चैतभित्र खन्ने काम सम्पन्न हुने छ ।
ठेकेदार चाइना ओभरसिज इञ्जिनियरिङ ग्रुप लिमिटेड (कोवेक) ले तीव्र गतिमा काम गरिरहेको छ ।परामर्शदाता नियुक्तिमा आयोजनाको दोस्रो चरणको काम भने सुरु गर्न ढिलाइ हुने देखिएको छ । दोस्रो चरण अन्तर्गत विद्युत् उत्पादनको संरचना बनाउन १६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
सुर्खेतकोे भेरीगङ्गा नगरपालिकास्थित चिप्लेमा १५ मिटर अग्लो बाँध बनाएर सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानी बबईमा खसाल्ने आयोजनाको लक्ष्य छ । भेरीको पानी सुर्खेत र बर्दियाको सिमानास्थित बबई नदीमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादनसँगै बाँके र बर्दियाको ५१ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ पुर्याइने लक्ष्यका साथ सुरुङ निर्माण भइरहेको छ ।
आयोजना कार्यलयले आयोजनाको बाँध र विद्युत् गृहको काम अघि बढाउन लागेको छ । सुर्खेतको चिप्लेस्थित भेरी नदीमा बाँध, विद्युत् उत्पादन गर्न विद्युत् गृह र सिंचाइका केही संरचना बनाउनका लागि काम अघि बढाएको हो ।
बाँध, विद्युत् गृह र सिंचाइका थप संरचना बनाउन थप १६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । परामर्शदाता नियुक्तिपछि ३ वटा प्याकेजको काम अघि बढाउन लागि बोलपत्र आह्वान गरिने तयारी परियोजनाको छ ।
सुरुङको काम सकिन लागे पनि सुर्खेतको चिप्लेस्थित भेरी नदीमा बाँध निर्माण, विद्युत् गृहलगायत सिंचाइका लागि थप संरचना निर्माण आवश्यक भएकाले प्रक्रिया अघि बढाएको हो ।
आयोजनाको सम्पूर्ण काम आर्थिक वर्ष ०७९/०८० मा सम्पन्न गर्ने लक्ष्य छ । सिंचाइअन्तर्गत ५१ हजार हेक्टरमध्ये ३६ हजार हेक्टरका लागि बबई सिंचाइबाट र थप १५ हजार हेक्टरका लागि नयाँ संरचना बनाउनु पर्नेछ ।