निर्माण क्षेत्रका समस्याबारे लेखा समितिमा छलफल

छलफलमा महासंघका अध्यक्ष रवि सिंहलेविविध कारणले निर्माण काममा ढिलाई भए पनि सबै दोष निर्माण व्यवसायीहरुलाई नै थोपरिने गरेको भन्दै गुनासो पोखेका छन् । सम्बन्धित निकायबीचको समन्वय अभाव, अव्यवहारिक प्रक्रिया तथा समयमा नै आवश्यक बजेट निकासा नहुँदा काममा ढिलो हुने गरेको अध्यक्ष सिंहले बताए ।

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले निर्माण र ठेक्का प्रक्रियाका समस्याका बारेमा नेपाल निर्माणव्यवसायी महासङ्घका पदाधिकारीहरुसँग छलफल गरेको छ ।

छलफलमा महासङ्घका अध्यक्ष रवि सिंहले विविध कारणले निर्माण कार्यमा ढिलाइ भए पनि सबै दोष निर्माण व्यवसायीहरुलाई नै थोपरिने गरेको भन्दै गुनासो पोखेका छन् । सम्बन्धित निकायबीचको समन्वय अभाव, अव्यावहारिक प्रक्रिया तथा समयमा नै आवश्यक बजेट निकासा नहुँदा काममा ढिलो हुने गरेको अध्यक्ष सिंहले बताए ।

महासङ्घका सल्लाहकारसमेत रहेका पूर्वअध्यक्ष जयराम लामिछानेले विदेशी निर्माण कम्पनीहरुलाई नेपालमा काम गर्न दिन हुँदैन भन्ने पक्षमा आफूहरु नरहेको तर महत्त्वपूर्ण र ठूला आयोजनाहरुमा विदेशीका साथै नेपालीले पनि अनिवार्य टेण्डर प्रक्रियामा सहभागी हुन पाउने धारणा राखेका छन् ।यस किसिमको व्यवस्थाले विदेशी सीप तथा प्रविधि नेपालमा भित्रिने र नेपाली निर्माण व्यवसायीहरुपनि सक्षम हुने उनको भनाइ थियो ।

सार्वजनिक लेखा समितिको सभा कक्षमा भएको बैठकमा सांसदहरुले केही निर्माण व्यवसायीहरुले समयमा कामसम्पन्न नगर्दा समग्र विकासको काममा वाधा पुगेको तथा मुलुकलाई समेत ठूलो घाटा भएको धारणा राखेका थिए ।

देशका विभिन्न भागमा सडक तथा पुलहरु निर्माणको ठेक्का प्राप्त गरेको व्यवसायीहरुले लामो समयसम्म पनि काम सम्पन्न नगर्दा जनतालाई निकै समस्या भएको उनीहरुको भनाइ थियो ।

बैठकमा उठेका विभिन्न विषयहरुमा थप छलफल गर्न आगामी बैठकमा सरकारी र अन्य सम्बद्ध निकायका जिम्मेवार पदाधिकारीहरुसँग छलफल गर्ने सहमति भएको बैठक पछि सभापति भरतकुमार शाहले जानकारी दिए ।