मुद्रा व्यवस्थापनका अप्ठ्याराहरु

कारोबार तथा भुक्तानीका लागि संसारमा सबैभन्दा लोकप्रिय साधन बैङ्कनोट हो । सबै पूर्वाधारयुक्त नयाँ आधुनिक केन्द्रीय बैङ्कअनुकूलको भौतिक पूर्वाधार नबनुन्जेल मुद्रा व्यवस्थापनको यान्त्रिकीकरण एवम् आधुनिकीकरण पनि कठिन छ ।

मुद्रा व्यवस्थापनमा कतिपय अप्ठ्यारा कायम छन् । कतिपय कुराको समाधान नेपाल राष्ट्र बैङ्कले गरिरहेको छ । राष्ट्र बैङ्कले व्यवस्थापनका निम्ति आवश्यक अन्य कार्य गर्न सक्छ । तर तत्परता, सक्रियता एवम् कार्यको नतिजाको प्रभावकारिता भने राष्ट्र बैङ्कले बढाउनैपर्छ । मुद्रा व्यवस्थापनमा देखिएका केही चुनौतीको चर्चा यहाँ गर्न खोजिएको छ—

मुद्रा व्यवस्थापन कार्यको यान्त्रिकीकरण

नेपाल राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापनका कतिपय कार्य परम्परागत छन् । बैङ्कको जनशक्ति नीतिका कारण कर्मचारीहरू अवकाश हुँदै गएको सन्दर्भमा बैङ्कमा प्रभावकारी मुद्रा व्यवस्थापनका लागि आवश्यक जनशक्तिको अभाव भई सम्पादित कार्य प्रभावकारी र छरितो हुन सकेको छैन । धेरै देशका केन्द्रीय बैङ्कले सफा र मैलो नोट छुट्याउने कार्य (करेन्ट भेरिफिकेसन एन्ड सर्टिङ) स्वचालित मेसिनमार्फत गरी मैला तथा चलनचल्ती पठाउन अयोग्य नोट धुलाउने कार्य पनि स्रिडिङ मेसिनबाट गरिरहेका छन् । नेपालमा दसकौं पुराना मेसिनले नोटमा प्वाल पारेर तिनलाई जलाउने कार्य गरिँदै छ । यसको चाँडै अन्त्य गरी यान्त्रिकीकरण गर्न अत्यावश्यक भइसकेको छ । यसका लागि क्यास सेन्टरको अवधारणा एक उपयुक्त समाधान हुन सक्ने देखिन्छ ।

भौतिक पूर्वाधार

नेपाल राष्ट्र बैङ्कले अन्य प्रयोजनले राणाहरुले बनाएको भवनमा कार्यालय सञ्चालन गर्दै आएको थियो, जुन अहिलेको केन्द्रीय बैङ्कको आवश्यकताअनुरुप थिएन । २०७२ साल वैशाखको भूकम्पबाट बैङ्कका केन्द्रीय कार्यालय, थापाथली कार्यालय तथा टक्सार महाशाखाका मूल भवन काम नलाग्ने गरी भत्किएपछि बाँकी भवन तथा टहरामा खाँदिएर आधुनिक केन्द्रीय बैङ्कको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने कोसिस गरिरहेको छ । कामको प्रकृतिअनुसारको तथा वातावरणमैत्री भवनले कार्यालयको कार्य वातावरणको निर्माण गर्छ । द्रुत गतिको इन्टरनेट सेवा, आधुनिक मिटिङ तथा सभाहल, सफा क्यान्टिन आदि पनि आवश्यक भौतिक पूर्वाधार हुन् । बैङ्कसँग यी सबै पूर्वाधारयुक्त नयाँ आधुनिक केन्द्रीय बैङ्कअनुकूलको भौतिक पूर्वाधार नबनुन्जेल मुद्रा व्यवस्थापनको यान्त्रिकीकरण एवम् आधुनिकीकरण पनि कठिन छ ।

बैङ्क नोटको आयु बढाउने कार्य

नोटलाई पट्याएर बोक्ने, नोटमा अक्षर तथा अङ्कहरू लेख्ने, चाडबाडमा रातो रङ लगाउने, तेल, रगत, पानी आदि लागेको मन्दिर तथा पूजा गर्ने स्थानहरूमा चढाउने, माटोमुनि राख्ने आदि कार्य गर्नु आम नेपालीहरूको आदतै हो । यस्ता कार्यले नोटलाई लामो अवधिसम्म सफा राख्न र नोटको आयुलाई बढाउन सकिँदैन । यस किसिमको समस्यालाई क्रमशः समाधान गर्दै लैजान अहिले नेपाल राष्ट्र बैङ्कले सफा नोट नीति लागू गरेको छ ।

सफा नोट नीतिको प्रभावकारी कार्यान्वयन

सफा नोट नीतिले नोट राष्ट्रको गौरव हो, मान्छेको संवदेनासँग यसको सम्बन्ध हुन्छ, त्यसैले यसलाई जतन गरी लामो समयसम्म चलनचल्तीमा प्रयोग गरौँ भन्ने सन्देश दिन खोजेको छ । त्यसैले उक्त नीतिको प्रभावकारी कार्यान्वयनका लागि नेपाल राष्ट्र बैङ्कका अतिरिक्त बैङ्क तथा वित्तीय संस्थाहरु, नगद कारोबार गर्ने अन्य संस्था, सर्वसाधारण जनता तथा मिडियाको पनि ठूलो भूमिका रहन्छ । वित्तीय साक्षरता कार्यक्रममार्फत ठाउँठाउँमा सफा नोट नीति तथा वित्तीय साक्षरतासम्बन्धी अनुशिक्षणहरू सञ्चालन गर्ने गरिएको भए तापनि त्यो पर्याप्त हुन सकेको छैन । हाल नोटमा स्टिच गर्ने कार्य बन्द भएको छ । नोटमा लेख्ने कार्यमा कमी आएको छ । तर पनि नोटलाई जतन गर्ने र सफा राख्ने अन्य उपायको प्रयोग आशातित रुपमा हुन सकेको देखिँदैन ।

जाली नोटको नियन्त्रण

संसारभर नक्कली नोट बजारमा कारोबार भएको भेटिएका छन् । नेपालमा पनि विशेषगरी १ हजार, ५ सयजस्ता ठूला नोटका जाली नोट भेटिने गरेका छन् । नक्कली तथा जाली नोटको प्रचलनलाई घटाउन सक्कली नोटमा नक्कल गर्न नसकिने वा सजिलै नक्कल गर्न नसकिने किसिमका सुरक्षण विशेषता राखिएका हुन्छन् । सुरक्षण विशेषता सामान्य आँखाले पहिचान गर्न सकिने र नसकिने दुवै किसिमका हुन्छन् । बैङ्क तथा वित्तीय संस्था तथा अन्य नगद कारोबार गर्ने सङ्गठित संस्थाले मेसिनको सहायताले जाली र सक्कली नोट छुट्याउन पनि सक्छन् । तर सर्वसाधारणका लागि भने सुरक्षण धागो, पानी छाप, गभर्नरको हस्ताक्षर, विशेष प्रकारको कागज, राष्ट्र बैङ्कको लोगोजस्ता आँखाले छु्ट्याउन सक्ने सुरक्षण विशेषताको खास महङ्खव रहन्छ । यसका लागि उनीहरुलाई सूचना, जानकारी, शिक्षा, तालिम आदि विभिन्न माध्यमले सुसूचित गर्नुपर्छ । यसका लागि नेपाल राष्ट्र बैङ्कका साथै समग्र बैङ्किङ क्षेत्रको परिचालन हुनुका साथै शैक्षिक पाठ्यक्रममै समावेश गरेर जानुपर्ने देखिएको छ ।

कारोबार तथा भुक्तानीका लागि संसारभरि सबैभन्दा धेरै चलेको तथा लोकप्रिय साधन बैङ्कनोट हो । त्यसो त आधुनिक तथा इलेक्ट्रोनिक भुक्तानीका माध्यमको प्रयोग गरी नोटविहीन अर्थव्यवस्था निर्माण गर्नेबारे बहस तथा छलफल भइरहन्छन् । तैपनि सर्वसाधारण जनताको मनमा नोटले पारेको छाप ज्यादै बलियोसँग रहेको छ । र, नोट निर्विवाद रुपमा भुक्तानीका साधनमध्येमा सबैभन्दा विश्वसनीय एवम् पहिलो रोजाइको माध्यमका रुपमा रहिरहेको छ ।

मुद्राभित्र नोट र सिक्का दुवै पर्छन् । तर नोटको तुलनामा सिक्काको चलनचल्ती अत्यन्त न्यून हुने गरेको छ । त्यसैले सामान्यतः मुद्रा भनेपछि नोटलाई नै बुझिनु स्वाभाविकै हो ।

मुद्रा व्यवस्थापन

मुद्रा व्यवस्थापन कार्य संसारभरिका केन्द्रीय बैङ्कको एक प्रमुख कार्य हो । सर्वसाधारण जनताले केन्द्रीय बैङ्कको प्रभावकारिताको मापन बजारमा भएको तरलताको अवस्था तथा त्यसमाथि उनीहरूको निरन्तर पहुँचको अवस्थाबाट गर्छन् । मुद्रा व्यवस्थापन कार्यअन्तर्गत नोट छपाइ तथा मुद्रा टकमरी, नोट तथा सिक्काको पर्याप्त वितरण (चलनचल्तीमा पठाउने काम), चलनचल्तीका नोटहरूको गुणस्तर कायम राख्ने काम, चलनचल्तीका लागि अयोग्य भएका नोट फिर्ता लिने तथा तिनलाई धुलाउने कार्य आदि पर्छन् ।

मुद्रा व्यवस्थापनको अन्तिम लक्ष्य भनेको बैङ्क नोटलाई भुक्तानीको प्रभावकारी माध्यम तथा सम्पत्ति जम्मा गर्ने माध्यमका रूपमा निरन्तरता दिँदै देशको मुद्राप्रतिको जनताको विश्वासलाई सुनिश्चित गर्नु हो । नेपालको केन्द्रीय बैङ्कका रूपमा नेपाल राष्ट्र बैङ्कले मुद्रा व्यवस्थापनको लक्ष्यलाई हासिल गर्न देहायका कार्य गरिरहेको छ :

मुद्राको प्रक्षेपण तथा छपाइ/टकमरी

नोटको छपाइ गर्नुअघि कति समयका लागि पुग्ने गरी कुनकुन दरका नोट कति कति सङ्ख्यामा छपाइ गर्ने भन्ने निश्चित गरिन्छ । यसका लागि बजारमा नोटको मागको प्रवृत्ति, अर्थतन्त्रको वृद्धि, जनसङ्ख्याको वृद्धि, बजारबाट नोटहरुलाई धुलाउने प्रयोजनका लागि फिर्ता गरिने प्रवृत्ति, नगदविहीन कारोबारमा भएको वृद्धिको अवस्था आदि पक्षहरूलाई आधार मानेर प्रक्षेपण गरिन्छ । नेपालमा सामान्यतया ३.२५ वर्षलाई पुग्ने गरी नोटको प्रक्षेपण गरेर छपाइ गर्ने गरिएको छ । तर व्यवहारमा ३ दशमलव २५ वर्षका लागि प्रक्षेपण गरिएका कतिपय दरका नोटको दुई वर्ष पुग्दा नपुग्दै खपत भइसकेको अवस्था पनि देखिएकाले नोटको प्रक्षेपण कार्यलाई अझ वैज्ञानिक एवम् वस्तुपरक बनाउनुपर्ने देखिएको छ ।

नोटको छपाइ उच्चस्तरको सुरक्षण प्रेसमा गरिने हुनाले त्यस्ता प्रेस र नोटमा प्रयोग गरिने विशेष प्रकारको कागज तयार गर्ने कम्पनीहरु सीमित सङ्ख्यामा छन् । छपाइका लागि खरिद आदेश दिएपछि नोट छापिएर आउन सामान्यतया १ वर्ष समय लाग्छ । कहिलेकाहीँ कुनै विशेष कारण उत्पन्न भई तोकिएको समयमा नयाँ नोटको डेलिभरी हुन नसक्ने सम्भावना पनि रहने हुँदा स्टकमा पर्याप्त नोट बाँकी छँदै अर्को शृङ्खलाको नोट तथा सिक्का छपाइ कार्य प्रारम्भ नगरिएमा भविष्यमा नोटको अभाव हुन जाने अवस्था रहन्छ । यसका लागि उक्त विषयमा काम गर्नेहरुमा पर्याप्त दक्षता, प्रभावकारिताको आवश्यकताका साथै नोटको सही प्रक्षेपण गर्नुपर्ने हुन्छ । केन्द्रीय बैङ्कले यस विषयमा समेत पर्याप्त ध्यान दिनुपर्छ ।

नोटकोष सञ्चालन

देशभरि स्वदेशी मुद्राको सहज आपूर्ति गरी अर्थतन्त्रमा तरलताको अवस्था आवश्यकतानुसार कायम गरी अर्थतन्त्रमा स्थिरता कायम गर्न नेपाल राष्ट्र बैङ्कले देशका विभिन्न स्थानमा आफ्ना कार्यालय भएका स्थानमा सोही कार्यालयमा र आफ्ना कार्यालय नभएका स्थानमा वाणिज्य बैङ्कहरुका शाखा कार्यालयहरुमा आफ्नो नोटकोषको स्थापना गरेको छ । सोही नोटकोषहरुमार्फत उक्त क्षेत्रमा माग भएका विभिन्न दरका नेपाली नोट तथा सिक्काहरुको आपूर्ति हुने गरेको छ । चलनचल्तीमा ल्याउन अयोग्य पुराना, झुत्रा नोटहरू सङ्कलन गरी नेपाल राष्ट्र बैङ्कका कार्यालयहरूमा धुलाउने प्रयोजनका लागि ल्याउने कार्यसमेत नोटकोषमार्पmत हुने गर्छ ।

नेपाल राष्ट्र बैङ्क आफैसँग काठमाडौँमा एक र काठमाडौँबाहिर सातओटा नोटकोष छन् । नेपाल राष्ट्र बैङ्क नभएका जिल्लामा राष्ट्रिय वाणिज्य बैङ्कका विभिन्न शाखा कार्यालयमा ४५ र नेपाल बैङ्क लिमिटेडका विभिन्न जिल्लाका शाखा कार्यालयमा २४ ओटा नोटकोषसमेत गरी देशभरि ७७ ओटा नोटकोष सञ्चालनमा छन् । ललितपुर, भक्तपुर र पर्वतमा नोटकोष सञ्चालनमा छैनन् भने कैलाली, दाङ र सोलुखुम्बुमा क्रमशः दुई÷दुईओटा नोटकोष सञ्चालनमा छन् ।

नोट धुलाउने कार्य

नेपाली नोट मैलो, झुत्रो भई आगोमा डढेको वा अन्य कुनै कारणले चलनचल्तीयोग्य नभएर सर्वसाधारण तथा सङ्गठित संस्थामार्पmत सट्टाभर्नाका लागि आएमा आवश्यक प्रक्रिया पु¥याई सट्टाभर्ना गरिदिन राष्ट्र बैङ्क दायित्वाधीन छ । नोटकोषहरूमा जम्मा भएका चलनचल्ती अयोग्य नोटहरू नेपाल राष्ट्र बैङ्कले फिर्ता लिने गर्छ । चलनचल्तीमा पठाउन नहुने नोटहरूलाई बैङ्कले धुलाउने कार्य गर्छ र आफ्नो अभिलेखबाट हटाउँछ ।

राष्ट्र बैङ्कले संसारका सबै केन्द्रीय बैङ्कहरूबाट हटिसकेका झुत्रा नोटहरुलाई मेसिनले प्वाल पारेर परम्परागत भट्टीमा हालेर जलाउने कार्य गरिरहेको छ । वातावरणीय प्रदूषण तथा कर्मचारीको स्वास्थ्यका दृष्टिले यो विधि उचित होइन । नोट धुलाउने यस्तो परम्परागत प्रणालीको ठाउँमा आधुनिक मेसिनको प्रयोग गरी आवाज तथा धूवाँरहित किसिमले नोट धुलाउन आवश्यक छ । यसबाट समयको बचत हुनुका साथै जनशक्तिसमेत बचत हुन जान्छ । यस कार्यतर्फ नेपाल राष्ट्र बैङ्कले नसोचेको भने होइन । भवनको अवस्थालगायत विविध कारणले गर्दा पनि नोट सर्टिङ गर्ने तथा धुलाउने (करेन्सी भेरिफिकेसन, प्रोसेसिङ एन्ड स्रेडिङ सिस्टम) प्रणालीमा जान ढिला भइरहेको छ । तर अन्ततः आधुनिक केन्द्रीय बैङ्कले नोट धुलाउने कार्य आधुनिक प्रविधिमार्फत नै गर्नुको विकल्प नभएको अवस्थामा नोट धुलाउन यस्तो प्रविधि भिœयाउने कार्यमा राष्ट्र बैङ्कको सक्रियता र तत्परता धेरै हालको तुलनामा धेरै बढाउनुपर्ने आवश्यकता देखिन्छ ।