प्राविधिकहरु आन्दोलनमा उत्रिएपछि पुनःनिर्माण कार्य प्रभावित

प्राविधिकहरुको आन्दोलनका कारण भूकम्प पीडितहरुको किस्ता सिफारिश, घर नापजाँच लगायतका काम रोकिएको छ ।

गोरखा । भूकम्पपछि गोरखाको पुनःनिर्माणमा खटिएका प्राविधिकहरुको आन्दोलनका कारण जिल्लाभित्र पुनःनिर्माणको काम प्रभावित भएको छ । विभिन्न आठबुँदे माग पूरा गर्न दबाब दिँदै प्राविधिकहरु आन्दोलनमा उत्रिएपछि पुनःनिर्माणका काम प्रभावित भएको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गतका प्राविधिकहरुलाई यसअघि दिँदै आएको सेवासुविधा कटौती भएपछि पुनः उपलब्ध गराउनुपर्ने भन्दै उनीहरुले कामकाज ठप्प पारेका हुन् । आफूहरुको मागको सम्बोधन नभएसम्म काममा नफर्कने प्राविधिक हकहित संरक्षण समितिका जिल्ला संयोजक बलराम घिमिरेले बताए ।

प्राविधिहरुले भौगोलिक, प्रोत्साहन, यातायात महँगी भत्ता साथै सञ्चार भत्ता मासिक रुपमा उपलब्ध गराउनुपर्ने माग गर्दै आन्दोलन गरेका हुन्। त्यस्तै जिल्लामा खटिएका प्राविधिकलाई परिचयपत्र, स्वास्थ्य तथा दुर्घटना बीमा, क्षमता अभिवृद्धि तालीमको पनि व्यवस्था हुनुपर्ने उनीहरुको माग छ ।

प्राविधिकहरुको आन्दोलनका कारण भूकम्प पीडितहरुको किस्ता सिफारिश, घर नापजाँच लगायतका काम रोकिएको छ । जसका कारण भूकम्प पीडितहरुलाई अनुदान रकम प्राप्त गर्न ढिलाई भएको छ । लाभग्राही भूकम्प पीडितहरुले घर बनाउँदा प्राविधिकहरु नापजाँचका लागि नआएपछि समस्या भएको उनीहरुले बताएका छन् ।

उनीहरुले जिल्ला तथा केन्द्रीय आयोजना कार्यान्वयन इकाइ, जिल्ला समन्वय समिति तथा गोरखा जिल्लाभित्रका ११ वटै स्थानीय तहमा ज्ञापन पत्र बुझाएर कामकाज ठप्प पारेका हुन् । सङ्घर्ष समितिले प्रजिअमार्फत राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको ध्यानाकर्षणसमेत गराइसकेको संयोजक घिमिरेले बताए ।

आफूहरुको माग सम्बोधन नभएसम्म काममा नफर्कने प्राविधिकहरुको भनाइ छ । गोरखा जिल्लामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत १०६ इञ्जिनीयर, ७४ सबइञ्जिनीयर र ७१ असिस्टेन्ट सबइञ्जिनीयर कार्यरत छन् ।