विसं २०७३ को चैतमा सम्झौता भएर विमानस्थल पुनःनिर्माणको काम सुरु भएको थियो । सुरुको सम्झौताअनुसार असारमा काम सक्नुपर्ने भए पनि सम्झौता सकिएको आठ महिना हुँदासम्म विमानस्थल कालोपत्रे हुन सकेको छैन ।
बैतडी । यही चैतभित्र बैतडीको पाटन विमानस्थलको कालोपत्रे गरी सक्ने भनिए पनि अझै कार्य सुरु भएको छैन । गत असारमा सक्ने लक्ष्यसहित निर्माण कार्य सुरु गरिएको विमानस्थल कालोपत्रे गर्ने कार्य थालनी नहुँदा स्थानीय बासिन्दा निराश बनेका छन् ।
ग्याल्वा च्यामलिङ्गा जगदम्बा जेभीले काम गरिरहेको विमानस्थलमा माटो काट्ने, सम्याउनेलगायतका काम सकिएको नागरिक उड्ड्यन प्राधिकरणका इञ्जिनियर कविता भट्टले बताइन् । विमानस्थललाई स्तरोन्नति गर्ने कार्यअन्तर्गत अब कालोपत्रेको काम मात्रै बाँकी छ । उनले भनिन्, “विमानस्थल निर्माण सुरु भएपछि इन्धनको अभाव, बेलाबेलामा हुने बन्दा हड्ताल र निर्माण कम्पनीको पनि केही लापरवाहीका कारण समयमै सम्पन्न हुन नसकेको हो ।”
विसं २०७३ को चैतमा सम्झौता भएर विमानस्थल पुनःनिर्माणको काम सुरु भएको थियो । सुरुको सम्झौताअनुसार असारमा काम सक्नुपर्ने भए पनि सम्झौता सकिएको आठ महिना हुँदासम्म विमानस्थल कालोपत्रे हुन सकेको छैन ।
पाटनमा विमानस्थलमा ५९० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्रे गरिनेछ भने ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिनेछ । मूल्य अभिवृद्धि करबाहेक ११ करोड २९ लाखको लागतमा काम भइरहेको छ ।
पाटनमा २०३२ सालमा विमानस्थल निर्माणको काम सुरु भएर विसं २०३५ देखि हवाइ सेवा सुरु भएको थियो । पछि २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो । पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो ।
विसं २०५८ मा तत्कालीन विद्रोही माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएको थियो । पाटन विमानस्थल सञ्चालन भएमा दार्चुलाको अपि हिमाल, बझाङको साइपाल हिमाल, बैतडी र डडेल्धुराका धार्मिक पर्यटकीय क्षेत्रमा पर्यटक भित्र्याउन सजिलो हुने पाटनका स्थानीय लोकेन्द्रप्रसाद पन्तले बताए । रासस